२०८३, आश्विन १९ गते

images
  • उर्जा
  • वर्षायामको चुनौती सामना गर्न विद्युत् प्राधिकरणको...

वर्षायामको चुनौती सामना गर्न विद्युत् प्राधिकरणको विशेष कार्ययोजना

वर्षायामको चुनौती सामना गर्न विद्युत् प्राधिकरणको विशेष कार्ययोजना

मंगलवार, श्रावण ५ २०८३१२:३७
मंगलवार, श्रावण ५ २०८३१२:३७
  • images

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा देशभर नियमित, सुरक्षित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न प्रदेश कार्यालयहरूलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएको छ।

    प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठको अध्यक्षतामा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख, सातै प्रदेश कार्यालयका प्रमुख तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखसँग सम्पन्न समीक्षा तथा निर्देशन बैठकमा वर्षायामका चुनौतीलाई मध्यनजर गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउन विभिन्न निर्देशन दिइएको हो।

    बैठकमा वर्षायामका कारण विद्युत् प्रणालीमा पर्न सक्ने असर, सेवा प्रवाहमा देखिन सक्ने चुनौती, ग्राहक गुनासो व्यवस्थापन तथा प्रदेशस्तरमा सञ्चालन भइरहेका आयोजना र कार्यक्रमको कार्यान्वयन अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो।

    कार्यकारी निर्देशक श्रेष्ठले कुनै पनि अवस्थामा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन आवश्यक जनशक्ति, उपकरण तथा मर्मत सामग्री चौबीसै घण्टा तयारी अवस्थामा राख्न र समस्या देखिनेबित्तिकै तत्काल परिचालन गर्न निर्देशन दिए । सम्भावित अवरोधलाई न्यूनतम बनाउँदै उपभोक्ताले नियमित र गुणस्तरीय सेवा पाउने वातावरण सुनिश्चित गर्न उनले जोड दिए ।

    उनले ग्राहकबाट प्राप्त हुने गुनासोको छिटो र प्रभावकारी सुनुवाइ तथा समाधान गर्न, योजनाबद्ध लाइन अवरोध वा आकस्मिक मर्मतका कारण विद्युत् आपूर्ति प्रभावित हुने अवस्थामा सकेसम्म पूर्वसूचना जारी गरी उपभोक्तालाई समयमै जानकारी गराउन निर्देशन दिनुभयो। सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व कायम राख्न पनि जोड दिए ।

    बाढी, पहिरो, हुरीबतासलगायत प्राकृतिक विपद्का कारण विद्युत् पूर्वाधारमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण र सामग्री तयारी अवस्थामा राख्न तथा प्रदेशभित्र सञ्चालनमा रहेका आयोजना र वितरण प्रणालीसम्बन्धी कामको नियमित अनुगमन गरी देखिएका समस्या तत्काल समाधान गर्न उनले निर्देशन दिए। सम्बन्धित निर्देशनालयसँग प्रभावकारी समन्वय गरी आयोजना कार्यान्वयनलाई तीव्रता दिन पनि उनले आग्रह गरे । 

    कार्यकारी निर्देशक श्रेष्ठले कर्मचारीको क्षमता अभिवृद्धि, सीप विकास र वृत्ति विकासका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तालिमको आवश्यकता पहिचान गरी प्रस्ताव पेस गर्नसमेत निर्देशन दिए ।

    बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन तथा सम्मान गरिने र सेवाप्रवाहमा लापरबाही गर्ने कर्मचारीलाई प्रचलित नियमअनुसार कारबाही गरिने स्पष्ट पारे । उनले परिणाममुखी कार्यसम्पादन, अनुशासित सेवा संस्कृतिको विकास तथा ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न प्रदेश कार्यालयहरूलाई आग्रह गरे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend