काठमाडौँ । कीर्तिपुरमा आगलागी भएको कारभित्र फेला परेको शवको पहिचान भएको छ। प्रहरीका अनुसार मृतक काठमाडौं महानगरपालिका–२६, क्षेत्रपाटी निवासी सूर्यचन्द्र श्रेष्ठ रहेका छन्।
मंगलबार बिहान कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटस्थित चाँदनीचोक क्षेत्रमा पार्किङ अवस्थामा रहेको बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको थियो। आगो नियन्त्रणमा लिएपछि चालक सिटमा सिटबेल्ट लगाएको अवस्थामा एक पुरुषको शव फेला परेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानका क्रममा मृतकको सनाखत गर्दा सूर्यचन्द्र श्रेष्ठकाे भएकाे जनाएको छ। प्रारम्भिक जानकारीअनुसार श्रेष्ठ औषधि व्यवसायसँग आबद्ध थिए।
प्रहरीले घटनाको कारण खुलिनसकेको जनाएको छ। आगलागी कसरी भयो, आगो लाग्नुअघि कारभित्र के अवस्था थियो र घटनामा अन्य कुनै पक्षको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप तथ्य संकलनका लागि प्राविधिक परीक्षण तथा अन्य आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

