काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले उक्त कर सुरुदेखि नै अनुपयुक्त रहेको भन्दै आफूहरूले त्यसको विरोध गर्दै आएको उल्लेख गरे ।
उनले निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक आर्थिक रूपमा सम्पन्न नहुने उल्लेख गर्दै धेरैका लागि निजी सेवा रोज्नु विलासिता नभई बाध्यता भएको बताए ।
थापाले निजी क्षेत्रलाई देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदारका रूपमा उल्लेख गर्दै सेवा प्रवाहमै अतिरिक्त करको भार थप्ने नीति समस्याको समाधान हुन नसक्ने धारणा राखे ।
“समता शुल्क लागू गर्नु समानताको नीति थिएन, बरु असमानतालाई अझ बढावा दिने व्यवस्था थियो,” उनले भने । सरकारले आर्थिक र सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था खारेज गरेको भन्दै थापाले निर्णयलाई सही भएको प्रतिक्रिया दिए। साथै, उक्त निर्णय कार्यान्वयनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि समयमै पूरा गर्न सरकारसँग आग्रह गरे ।

