काठमाडौँ । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक (Ampere Electric) ले नेपालमा आफ्नो बजार विस्तारलाई तीव्र बनाउँदै सर्लाहीको मलंगवामा नयाँ आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। नेपालका लागि आधिकारिक वितरक एसटीसी अटो सोलुसन प्रालि ले मलंगवाको राजघाटी चोकस्थित बी. एम. ईभी हब लाई एम्पियरको आधिकारिक बिक्री तथा सेवा केन्द्रको जिम्मेवारी दिएको हो।
कम्पनीका अनुसार नयाँ शोरुमबाट ग्राहकले एम्पियरका विद्युतीय स्कुटर अवलोकन, टेस्ट राइड, खरिद तथा बिक्रीपछिको सेवा (After-sales Service) सहज रूपमा प्राप्त गर्न सक्नेछन्। कम्पनीले नेपालभर गुणस्तरीय विद्युतीय सवारी, भरपर्दो सेवा र उत्कृष्ट ग्राहक अनुभव विस्तार गर्ने रणनीतिअन्तर्गत मलंगवामा सेवा विस्तार गरिएको जनाएको छ।
एम्पियर इलेक्ट्रिक भारतको अग्रणी विद्युतीय दुईपांग्रे सवारी उत्पादक ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी (Greaves Electric Mobility) अन्तर्गतको प्रिमियम ब्रान्ड हो। आधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च गुणस्तरका कारण यस ब्रान्डले "इलेक्ट्रिक स्कुटर अफ द इयर" लगायत विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार एम्पियर स्कुटरमा प्रयोग गरिएको लिथियम फेरो फस्फेट (LFP) ब्याट्री सुरक्षित, टिकाउ र लामो आयु भएको प्रविधिमा आधारित छ। यी ब्याट्री माइनस ४० डिग्रीदेखि ६० डिग्री सेल्सियससम्म परीक्षण गरिएका छन् भने ५ वर्ष वा ७५ हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको जनाइएको छ।
हाल नेपाली बजारमा Ampere Nexus EX को मूल्य ३ लाख ३५ हजार रुपैयाँ, Ampere Nexus EX+ को ३ लाख ४५ हजार रुपैयाँ तथा Ampere Magnus G Max को ३ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले मलंगवामा आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालनसँगै नेपालका उदाउँदा बजारमा वातावरणमैत्री तथा दिगो यातायातको पहुँच विस्तार गर्ने अभियानलाई थप मजबुत बनाएको विश्वास व्यक्त गरेको छ।

