काठमाडौँ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने उद्देश्यसहित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय नियमित उडानमा २०८५ साल भदौ मसान्तसम्मका लागि पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो।
यस्तै, सोही अवधिसम्म ग्राउन्ड ह्यान्डलिङ सेवामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने निर्णयसमेत सरकारले स्वीकृत गरेको छ। लामो समयदेखि अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडान विस्तार हुन नसकेका यी विमानस्थलमा विदेशी वायुसेवा कम्पनीलाई आकर्षित गर्ने उद्देश्यले सरकारले यो विशेष सहुलियत प्याकेज ल्याएको हो।
सरकारले सार्वजनिक गरेको निर्णयअनुसार यो सहुलियत २०८५ साल भदौ मसान्तसम्म लागू रहनेछ। यस अवधिमा अन्तर्राष्ट्रिय नियमित उडान विस्तार गरेर दुवै विमानस्थलको व्यावसायिक उपयोगिता बढाउने लक्ष्य सरकारले लिएको छ।

