२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड, सेवा...

आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड, सेवा सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड, सेवा सुधारका लागि उच्चस्तरीय छलफल

सीएनएन खबर
बुधवार, श्रावण ६ २०८३०५:४४
सीएनएन खबर
बुधवार, श्रावण ६ २०८३०५:४४
  • images

    काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ। छलफलमा आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने, स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने तथा नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको हो।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा रहेको बताउँदै नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

    छलफलमा पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र तथा बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा सहमति जुटेको मन्त्रालयले जनाएको छ। ती संस्थाको पूर्वाधार, सेवा, विशेषज्ञ जनशक्ति तथा अन्तर्राष्ट्रियस्तरको वेलनेस सेवा विस्तार गर्दै नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको प्रमुख गन्तव्य बनाउने रणनीतिमा मन्त्रालयले काम अघि बढाउने जनाएको छ।

    छलफलका क्रममा आयुर्वेद सेवालाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने, संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण सम्पन्न गर्ने, मन्त्रालयमा आयुर्वेदसम्बन्धी संस्थागत संरचना सुदृढ गर्ने, जडीबुटी उत्पादनदेखि प्रशोधन र औषधि उत्पादनसम्मको मूल्य शृंखला विकास गर्ने तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जीएमपी मापदण्डअनुसार उत्पादन प्रणाली सुदृढ गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका थिए।

    बैठकमा मन्त्रालयका उच्च अधिकारी, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेद चिकित्सालय, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल आयुर्वेद चिकित्सक संघ तथा राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रका प्रतिनिधिको सहभागिता रहेको थियो।

    मन्त्रालयले छलफलबाट प्राप्त सुझावलाई कार्यान्वयनयोग्य योजना र नीतिगत निर्णयमार्फत क्रमिक रूपमा लागू गर्दै आयुर्वेद क्षेत्रको संस्थागत विकास, सेवा विस्तार र स्वास्थ्य पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाइने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend