काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोट्रक्स प्रालिले चीनको एसएआईसी (SAIC) ग्रुपको म्याक्सस ब्रान्डअन्तर्गतको नयाँ विद्युतीय फोर–ह्विल ड्राइभ पिकअप ‘म्याक्सस इ–टेरोन ९ कम्फर्ट’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीले पिकअपको विशेष सुरुआती मूल्य ८८ लाख रुपैयाँ तोकेको छ। यो मूल्य पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुने जनाएको छ। यसअघि कम्पनीले यही मोडलको प्रिमियम संस्करण सार्वजनिक गरिसकेको छ, जसको बजार मूल्य १ करोड २८ लाख रुपैयाँ रहेको छ।
नयाँ पिकअपमा १०२.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ, जुन कम्पनीका अनुसार नेपालमा आयात भएका विद्युतीय सवारीमध्ये सबैभन्दा ठूलो ब्याट्री प्याक हो। एकपटक पूर्ण चार्ज गरेपछि यसले ५६० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।
गाडीमा ११५ किलोवाट डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध भएकाले करिब ४२ मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ। अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका दुई विद्युतीय मोटर जडान गरिएको यस पिकअपले ७०० एनएम टर्क उत्पादन गर्छ। गाडीले ५.८ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ।
व्यावसायिक तथा साहसिक दुवै प्रयोजनलाई ध्यानमा राखेर डिजाइन गरिएको यस पिकअपको पेलोड क्षमता १,०५० किलोग्राम र टोइङ क्षमता ३,५०० किलोग्राम रहेको छ।
नेपालका विविध सडक अवस्थालाई मध्यनजर गर्दै गाडीमा २६० एमएम ग्राउन्ड क्लियरेन्स, २९ डिग्री एप्रोच एंगल, २५ डिग्री डिपार्चर एंगल, डबल विशबोन फ्रन्ट सस्पेन्सन, मल्टी–लिङ्क इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा अल–टेरेन सिस्टम जडान गरिएको छ। कम्पनीले यी विशेषताले उकालो, ओरालो तथा कच्ची सडकमा पनि सहज र सुरक्षित यात्रा सुनिश्चित गर्ने जनाएको छ।
पाँच यात्रुका लागि तयार गरिएको क्याबिनमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १२.३ इन्चको टचस्क्रिन, ६–वे इलेक्ट्रिक ड्राइभर सिट, अटोमेटिक एयर कन्डिसनिङ, पछाडिका यात्रुका लागि छुट्टै एसी आउटलेट, की–लेस इन्ट्री तथा स्टार्ट, अटोमेटिक हेडलाइट, वान–टच पावर विन्डोज र बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न मिल्ने भेहिकल–टु–लोड (V2L) सुविधा समावेश गरिएको छ।
सुरक्षाको दृष्टिले यस पिकअपले प्रतिष्ठित युरो एनक्याप (Euro NCAP) बाट फाइभ–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।
हिमालय मोट्रक्सका प्रबन्ध निर्देशक सौरभ थापाका अनुसार हाल काठमाडौं र पोखराबाट गाडीको बिक्री भइरहेको छ भने देशका अन्य छ प्रमुख सहरमा सेवा केन्द्र सञ्चालनमा छन्। कम्पनीले आगामी नाइमा मोबिलिटी शोमा म्याक्ससकै लक्जरी माइक्रोबस सार्वजनिक गर्ने तयारीसमेत गरेको जानकारी दिएको छ।
कार्यक्रममा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले नेपालको पहाडी तथा दुर्गम सडक अवस्थालाई ध्यानमा राखेर ल्याइएको यो विद्युतीय पिकअपले नेपाली उपभोक्ताको आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे।

