काठमाडौं । नेपाल एसबीआई बैंकका कर्मचारीहरूले श्रम अधिकार, ट्रेड युनियनको स्वतन्त्रता तथा बैंकको आन्तरिक नीतिविपरीत व्यवस्थापनले काम गरेको आरोप लगाउँदै नियामक निकाय नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन्।
नेपाल एसबीआई बैंक कर्मचारी संघले बैंक व्यवस्थापनले कर्मचारीमाथि परेको गुनासो निष्पक्ष रूपमा समाधान नगरी उजुरी गर्ने कर्मचारी र ट्रेड युनियनका प्रतिनिधिलाई नै सरुवा गरेको भन्दै राष्ट्र बैंकमा औपचारिक उजुरी दर्ता गरेको हो।
संघका अनुसार बैंकको कमर्सियल शाखामा कार्यरत कर्मचारीहरूले शाखा प्रबन्धकबाट मानसिक दबाब, अपमानजनक व्यवहार तथा कार्यालय समयपछि पनि नियमित रूपमा अतिरिक्त काम गर्न बाध्य पारिएको भन्दै गत अप्रिल १ मा संयुक्त रूपमा लिखित गुनासो दिएका थिए। त्यसको केही दिनपछि कर्मचारी संघले पनि प्रमुख कार्यकारी अधिकृत (सीईओ) समक्ष छुट्टै निवेदन पेश गरेको जनाएको छ।
बैंकले आन्तरिक गुनासो व्यवस्थापन प्रणालीमार्फत छानबिन सुरु गरेको जानकारी दिए पनि त्यसको प्रतिवेदन वा निष्कर्ष सम्बन्धित कर्मचारीलाई उपलब्ध नगराइएको संघको आरोप छ। प्रारम्भिक छानबिनपछि पुनः अर्को अधिकारीमार्फत अनुसन्धान गरिएकाले प्रक्रिया पारदर्शी र निष्पक्ष नभएको संघको भनाइ छ। गुनासो गर्ने पक्ष र आरोपितलाई अलग राखेर छानबिन गर्नुपर्ने सामान्य मापदण्डसमेत पालना नगरिएको आरोप लगाइएको छ।
संघले समस्याको समाधानका लागि व्यवस्थापनलाई अल्टिमेटम दिएको थियो। त्यसपछि मानव संसाधन विभागले अन्तरिम व्यवस्थाको हवाला दिँदै माग पूरा गर्न नसकिने जवाफ दिएको बताइएको छ।
संघका अनुसार पछि इमेलमार्फत छानबिन पूरा भइसकेको र आवश्यक अनुशासनात्मक कारबाही गरिएको जानकारी गराइए पनि त्यसको तीन दिनमै उजुरी गर्ने तीन कर्मचारी र कर्मचारी संघका एक केन्द्रीय सदस्यलाई उपत्यकाबाहिर सरुवा गरिएको थियो। संघले यसलाई गुनासो गर्ने कर्मचारीमाथिको प्रतिशोधात्मक कदम भएको दाबी गरेको छ।
कर्मचारी संघले यस्तो कार्य श्रमसम्बन्धी अनुचित अभ्यास भएको, ट्रेड युनियन ऐन, नेपालको संविधानले सुनिश्चित गरेको श्रमिक अधिकार तथा बैंककै कार्यस्थल उत्पीडनविरुद्धको आन्तरिक नीतिको समेत उल्लङ्घन भएको जनाएको छ।
उजुरीमार्फत संघले प्रतिशोधपूर्ण सरुवा तत्काल रद्द गर्न, छानबिन प्रतिवेदन सम्बन्धित कर्मचारीलाई उपलब्ध गराउन, आवश्यक परे स्वतन्त्र र निष्पक्ष अनुसन्धान गराउन तथा बैंकभित्रको संस्थागत सुशासन, कर्मचारी संरक्षण, आन्तरिक नियन्त्रण प्रणाली, आचारसंहिता र नियामकीय पालनाको विशेष अध्ययन गरी जिम्मेवार पदाधिकारीमाथि कानुनबमोजिम कारबाही गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ।

