२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • लुम्बिनीमा सत्ता समीकरण फेरियो: कांग्रेसका पाँचै...

लुम्बिनीमा सत्ता समीकरण फेरियो: कांग्रेसका पाँचै मन्त्रीको राजीनामा, एमाले–नेकपा मिलेर नयाँ सरकार गठनको तयारी

लुम्बिनीमा सत्ता समीकरण फेरियो: कांग्रेसका पाँचै मन्त्रीको राजीनामा, एमाले–नेकपा मिलेर नयाँ सरकार गठनको तयारी

आइतवार, श्रावण १० २०८३०२:२५
आइतवार, श्रावण १० २०८३०२:२५
  • images

    काठमाडौँ । केन्द्रमा भएको नयाँ सत्ता समीकरणको प्रभाव लुम्बिनी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेकपाबीच सहकार्य अघि बढेसँगै सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्।

    कांग्रेसबाट सरकारमा सहभागी सबै मन्त्रीले आइतबार आफ्नो राजीनामा पार्टीको संसदीय दलमा बुझाएका हुन्। सार्वजनिक बिदा र मुख्यमन्त्री चेतनारायण आचार्य देउखुरीबाहिर रहेकाले राजीनामा तत्काल बुझाउन नसकिए पनि सोमबार सामूहिक रूपमा मुख्यमन्त्रीसमक्ष पेश गर्ने तयारी गरिएको छ।

    राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज), सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।

    कांग्रेस प्रमुख सचेतक जमुना ढकालले पाँचै मन्त्रीको राजीनामा संसदीय दलमा प्राप्त भइसकेको जानकारी दिँदै सोमबार मुख्यमन्त्रीलाई सामूहिक रूपमा बुझाइने र सोही दिन स्वीकृत हुने गरी छलफल भएको बताइन्।

    हाल लुम्बिनीमा एमालेका चेतनारायण आचार्य नेतृत्वको सरकारमा कांग्रेस सहभागी रहेको छ। तर केन्द्रको नयाँ राजनीतिक समीकरणअनुसार अब कांग्रेस सरकारबाट बाहिरिने र नेकपा सरकारमा सहभागी हुने निश्चित भएको छ।

    ८७ सदस्यीय प्रदेशसभामा हाल ८३ सांसद कायम छन्। एमालेका २९ र नेकपाका १३ (सभामुखसहित) सांसद छन्। यी दुई दलसँग मात्रै स्पष्ट बहुमत नपुग्ने भएकाले सरकार गठनका लागि साना दल वा स्वतन्त्र सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ।

    यसैबीच, सरकारमा अहिले पनि सहभागी रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई नयाँ सत्ता गठबन्धनमा निरन्तर राख्ने सम्भावना बलियो देखिएको छ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले कांग्रेसका मन्त्रीहरूको राजीनामाबारे जानकारी प्राप्त भइसकेको बताउँदै केन्द्रको निर्देशनअनुसार सरकार पुनर्गठनको प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

    उनले नेकपासँगै सरकारमा रहेको लोसपालाई पनि समेटेर नयाँ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको उल्लेख गर्दै एक–दुई दिनभित्र केन्द्रको निर्णयअनुसार सरकार विस्तार हुने बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend