काठमाडौं। नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र राज्य पक्षबाट भएको भनिएको दुव्र्यवहारको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।
संघले मंगलबार विज्ञप्ति जारी गर्दै वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साउन ९ गते भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनाप्रति गम्भीर आपत्ति जनाएको हो। आन्दोलनअन्तर्गत आज ओपिडी लगायत आकस्मिकबाहेकका सबै सेवा बन्द रहने जनाइएको छ।
संघका अनुसार उक्त घटनामा डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको थियो भने अन्य चिकित्सक र स्वास्थ्यकर्मीमाथि पनि आक्रमण भएको थियो। घटनामा संलग्न व्यक्तिहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ अनुसार कारबाही गर्न संघले माग गरेको छ।
यस्तै, घटनाबारे जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा पर्साका प्रहरी प्रमुख (एसपी) सुदीपराज पाठकले प्रहरी परिचालन गरी नेपाल चिकित्सक संघका केन्द्रीय कार्यकारिणी सदस्य, नारायणी शाखाका अध्यक्ष तथा अन्य चिकित्सकहरूमाथि गालीगलौज र दुव्र्यवहार गरेको आरोप पनि संघले लगाएको छ।
संघले उक्त घटनाको भर्त्सना गर्दै सम्बन्धित एसपी र प्रमुख जिल्ला अधिकारीमाथि समेत आवश्यक कारबाही गर्न सरकारसँग माग गरेको छ।
नेपाल चिकित्सक संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने जनाएको छ। साथै, सेवा बन्दका कारण बिरामी तथा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आन्दोलन चिकित्सकहरूको सुरक्षा र सम्मान सुनिश्चित गर्नका लागि बाध्य भएर गर्नुपरेको स्पष्ट पारेको छ।

