काठमाडौँ । खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजना (९ मेगावाट) निर्माणका लागि एनएमबी बैंक र बन्डर्स इनर्जी प्रालिबीच १२४ करोड ऋण लगानी सम्झौता सम्पन्न भएको छ। मंगलबार भएको सम्झौतामा एनएमबी बैंकका तर्फबाट सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरे ।
कम्पनीले दोलखा र रामेछाप जिल्लाको सीमामा रहेको खिम्ती–घ्वाङ खोलामा ९ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ। आयोजना २०८४ साल चैतभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति मन्त्रिपरिषद्बाट भइसकेको छ। साथै, आवश्यक जग्गा खरिद, पहुँचमार्ग निर्माण, गोदाम, आवास गृहलगायतका पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन्। सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल निर्माणसम्बन्धी ठेक्का सम्झौता सम्पन्न भई हालसम्म करिब ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।
आयोजनाको कुल लागत करिब १८० करोड अनुमान गरिएको छ। यसमध्ये रु १२४ करोड एनएमबी बैंकमार्फत ऋण लगानी गरिनेछ भने बाँकी रकममध्ये अधिकांश स्रोत जुटिसकेको र बाँकी रकम पनि छिट्टै व्यवस्थापन गर्ने तयारी भइरहेको कम्पनीका प्रबन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले जानकारी दिएका छन्।
कम्पनीका अनुसार यो आयोजना सामाजिक तथा वातावरणीय मापदण्ड पूरा गर्दै आधुनिक जलविद्युत् प्रविधि प्रयोग गरी निर्माण भइरहेको आयोजनामध्ये एक हुनेछ।

