काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, संवाद र राष्ट्रिय सहमतिमार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा जारी सर्वदलीय बैठकमा धारणा राख्दै प्रचण्डले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नुपर्ने बताए।
उनले भूकम्प, बाढी–पहिरो तथा संविधान निर्माणजस्ता जटिल अवस्थामा राजनीतिक दलहरूले राष्ट्रिय सहमति र एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै अहिले पनि त्यही परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको उल्लेख गरे।
प्रचण्डले राष्ट्रिय महत्वका यस्ता संवेदनशील विषयमा सरकार साझा समाधानतर्फ प्रभावकारी रूपमा अग्रसर हुन नसकेको भन्दै प्रश्न उठाए। साथै, सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद व्यक्त गरे।
उनले सरकारलाई अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्न आग्रह गर्दै प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताए। संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उनको टिप्पणी थियो।
प्रचण्डले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने स्पष्ट पार्दै संवाद, सहमति र राजनीतिक समझदारीबाट मात्रै वर्तमान परिस्थितिलाई सहज बनाउन सकिने धारणा राखे। माओवादी केन्द्रले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशनसमेत दिइसकेको उनले जानकारी दिए।
घटनास्थलमा स्थानीय व्यक्तिमात्र नभई बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने सम्भावनाप्रति सचेत गराउँदै उनले सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरे।
प्रचण्डले अहिले राजनीतिक तिक्तता बढाउने होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने बताए। उनले सरकार, राजनीतिक दल र सबै सरोकारवाला पक्षलाई सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट रूपमा अघि बढ्न आह्वान गरे।

