२०८३, श्रावण २५ गते

images
  • राजनीति
  • देवानगन्ज–सिराहा घटनापछि प्रधानमन्त्री शाहको देशवासीलाई सम्बोधन,...

देवानगन्ज–सिराहा घटनापछि प्रधानमन्त्री शाहको देशवासीलाई सम्बोधन, गरे शान्ति र संयमताको अपिल

देवानगन्ज–सिराहा घटनापछि प्रधानमन्त्री शाहको देशवासीलाई सम्बोधन, गरे शान्ति र संयमताको अपिल

images
बिहिवार, श्रावण १४ २०८३०८:५६
बिहिवार, श्रावण १४ २०८३०८:५६
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका क्षेत्रमा हालै भएका घटनाप्रति सरकार गम्भीर, संवेदनशील र जिम्मेवार रहेको बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै उनले घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन सरकारले आवश्यक सबै कदम चालिरहेको जानकारी दिए।

    प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे। साथै, घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई आवश्यक निर्देशन दिइएको बताए।

    उनले घटनाको निष्पक्ष र पारदर्शी छानबिनका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको जानकारी दिँदै दोषी जोसुकै भए पनि कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारे।

    प्रधानमन्त्रीका अनुसार शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायलाई तत्काल परिचालन गरिएको छ भने गृहमन्त्री स्वयं घटनास्थल पुगेर अवस्था अनुगमन गरिरहेका छन्। देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णय गरिएको र केन्द्रमा सर्वदलीय बैठकका साथै स्थानीय तहमा पनि निरन्तर संवाद भइरहेको उनले बताए।

    सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह, असत्य सूचना तथा घृणा फैलाउने सामग्री प्रचारप्रसार नगर्न सबैमा आग्रह गरे। सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनामाथि मात्र विश्वास गर्न उनले अपिल गरे।

    उनले नागरिकको जीवन, सम्पत्ति र सामाजिक सद्भावको रक्षा गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार जीवनयापन गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराए। कुनै पनि धर्मले हिंसा, द्वेष वा विभाजनको शिक्षा नदिने भन्दै एक स्थानको घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई दोषारोपण गर्नु उचित नहुने उनको भनाइ थियो।

    प्रधानमन्त्री शाहले शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने र सामाजिक सद्भाव खल्बल्याउने गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेको स्पष्ट पार्दै त्यस्ता कार्यमा संलग्नमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिए।

    सम्बोधनको अन्त्यमा उनले आम नागरिक, नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल तथा सञ्चारमाध्यमलाई संयम, धैर्य र जिम्मेवारीका साथ सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न सहयोग गर्न आग्रह गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend