काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहित विभिन्न जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई अफवाहमा नलाग्न र संयमता अपनाउन आग्रह गरे ।
प्रधानमन्त्री शाहले सरकारको मुख्य ध्यान प्रभावित नागरिकसम्म तत्काल पुग्ने, उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउने र घटनाको निष्पक्ष छानबिन गर्नेमा केन्द्रित रहेको स्पष्ट पारे । शान्ति–सुरक्षा प्रभावकारी बनाउन तथा परिस्थितिलाई थप जटिल हुन नदिन सरकारले बहुआयामिक रणनीति कार्यान्वयन गरिरहेको उनको भनाइ थियो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा तत्काल पुगेर नागरिक र राज्यबीच विश्वासको वातावरण निर्माण गर्न आग्रह गरे । कठिन र आपत्कालीन परिस्थितिमा जनताको साथमा उभिनु जनप्रतिनिधिको प्रमुख दायित्व भएको उनले उल्लेख गरे ।
बैठकमा सहभागी सांसदहरूले प्रधानमन्त्री शाहको आग्रहअनुसार तत्काल आ–आफ्नो क्षेत्रमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले प्रधानमन्त्रीले बिहीबार राष्ट्रका नाममा गर्नुभएको सम्बोधनले विशेषगरी प्रभावित क्षेत्रमा सकारात्मक सन्देश, विश्वास र भरोसा बढाएको धारणा राखेका थिए।
सांसदहरूले स्थानीय तहमा दिगो शान्ति र सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी तथा स्थानीय राजनीतिक दलबीच निरन्तर संवादलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन्। साथै, सामाजिक सञ्जालमार्फत फैलिने भ्रम र अफवाह नियन्त्रण गर्दै युवालाई सचेत बनाउन स्थानीय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा समेत जोड दिएका छन्।

