काठमाडौं । स्युचाटार–मातातीर्थ १३२ केभी प्रसारण लाइनको बसमा तार चुडिएपछि उत्पन्न आकस्मिक समस्या मर्मतका लागि शनिबार अपराह्न करिब एक घण्टा विद्युत् आपूर्ति प्रभावित हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार मर्मत कार्यका लागि आज (साउन १५ गते) अपराह्न ४:३० बजेदेखि ५:३० बजेसम्म सटडाउन लिनुपर्ने भएकाले स्युचाटार, पाटन, के–३ र टेकु सबस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रहरूमा सेवा अवरुद्ध हुने जनाएकाे छ ।
प्राधिकरणले मर्मत कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति तत्काल पुनः सुचारु गरिने जनाएको छ।
विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै प्राधिकरणले आवश्यक सावधानी अपनाउन तथा सहयोग गरिदिन सम्बन्धित सबै उपभोक्तासँग आग्रह गरेको छ।

