काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् अवरोध, मर्मत–सम्भार तथा सेवा अवरुद्धसम्बन्धी पूर्वसूचना ग्राहकसम्म छिटो, सहज र प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले अनलाइन KYC (Know Your Customer) सेवा सञ्चालनमा ल्याएको छ।
प्राधिकरणले सञ्चालनमा ल्याएको https://kyc.nea.org.np पोर्टलमार्फत अब ग्राहकले घरमै बसेर आफ्नो सम्पर्क नम्बर तथा अन्य आवश्यक विवरण अद्यावधिक गर्न सक्नेछन्। यससँगै KYC अद्यावधिकका लागि कार्यालय धाउनुपर्ने बाध्यता हट्ने प्राधिकरणले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ग्राहकलाई निरन्तर, सुरक्षित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनु प्राधिकरणको प्रमुख प्राथमिकता रहेको बताए । उनका अनुसार प्रसारण तथा वितरण लाइनको मर्मत–सम्भार वा आकस्मिक प्राविधिक कारणले विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्था आएमा सम्बन्धित क्षेत्रका ग्राहकलाई SMS तथा डिजिटल प्रणालीमार्फत पूर्वसूचना उपलब्ध गराउने लक्ष्यका साथ अनलाइन KYC अभियान सुरु गरिएको हो।
योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशकले विगतमा KYC अद्यावधिक गर्न कार्यालयमै पुग्नुपर्ने झन्झटलाई अन्त्य गर्दै अब अनलाइनमार्फत सहज रूपमा सेवा लिन सकिने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार ग्राहकले सही मोबाइल नम्बर र अन्य विवरण अद्यावधिक गरेपछि विद्युत् अवरोध, महसुल, सेवा सूचना तथा अन्य आवश्यक जानकारी समयमै प्राप्त गर्न सक्नेछन्।
प्राधिकरणका अनुसार नयाँ प्रणालीले ग्राहकको समय बचत गर्नुका साथै कार्यालयमा हुने भीड र सेवा लिनुपर्ने झन्झट पनि कम गर्नेछ।
ग्राहकले मोबाइल वा कम्प्युटरको वेब ब्राउजरबाट https://kyc.nea.org.np मा प्रवेश गरी आफ्नो Customer ID तथा मागिएका विवरण भरेर जुनसुकै समय अनलाइन KYC अद्यावधिक गर्न सक्नेछन्।
प्राधिकरणले सबै ग्राहकलाई समयमै सेवा सूचना प्राप्त गर्न तथा विद्युत् सेवासम्बन्धी जानकारी नियमित रूपमा हासिल गर्न अनलाइन KYC अद्यावधिक गर्न आग्रह गरेको छ।

