२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • कप्तानगन्ज गोलीकाण्डमा अर्का घाइतेको पनि मृत्यु,...

कप्तानगन्ज गोलीकाण्डमा अर्का घाइतेको पनि मृत्यु, मृतक संख्या तीन पुग्यो

कप्तानगन्ज गोलीकाण्डमा अर्का घाइतेको पनि मृत्यु, मृतक संख्या तीन पुग्यो

मंगलवार, श्रावण १९ २०८३१२:४४
मंगलवार, श्रावण १९ २०८३१२:४४
  • images

    काठमाडौँ । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको हिंसात्मक घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका अर्का युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलिप ढुंगानाका अनुसार २१ वर्षीय रवीन्द्रकुमार मेहताको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलबार उपचारकै क्रममा निधन भएको हो।

    गोली लागेपछि उनको प्रारम्भिक उपचार विराटनगरस्थित विराट नर्सिङ होममा गरिएको थियो। त्यहाँ अवस्था सुधार हुन नसकेपछि साउन १४ गते थप उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको थियो।

    कप्तानगन्जमा साउन ९ गते दुई समूहबीच सुरु भएको विवाद झडपमा परिणत भएपछि अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि साउन १० गते स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएका थिए।

    उक्त घटनामा गोली लागेर स्थानीय २१ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि घाइते भएका अर्का स्थानीय २२ वर्षीय जयप्रकाश मेहताको पनि बिहीबार विराटनगरमा उपचारका क्रममा निधन भएको थियो।

    मंगलबार रवीन्द्रकुमार मेहताको पनि मृत्यु भएसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

    प्रहरीका अनुसार घटनामा घाइते भएका अन्य सात जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबै देवानगन्ज गाउँपालिकाका स्थानीय बासिन्दा हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend