काठमाडौं । वुलिङको पहिलो पूर्ण विद्युतीय सात सिटे मल्टी पर्पोज भेहिकल (एमपीभी) ‘डारियोन इभी’ नेपाली बजारमा भित्रिएको छ। केही दिनपछि आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै वुलिङको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यो नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको हो।
ठूलो परिवार तथा व्यावसायिक प्रयोजनलाई ध्यानमा राखेर विकास गरिएको डारियोन इभीमा तीन पङ्क्तिका सिट, फराकिलो क्याबिन र प्रशस्त बुट स्पेस उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसले यात्रुलाई आरामदायी यात्रा अनुभवसँगै सामान राख्न पर्याप्त स्थान प्रदान गर्ने विश्वास कम्पनीको छ।
फिचरका हिसाबले डारियोन इभीमा आधुनिक फ्रन्ट डिजाइन, एलईडी हेडल्याम्प, ठूलो टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिफङ्सन स्टेरिङ, कनेक्टेड कार प्रविधि तथा अत्याधुनिक सुरक्षा सुविधाहरू समावेश गरिएको छ। साथै, प्रयोगकर्ताको आवश्यकता अनुसार मिलाउन सकिने लचिलो सिट कन्फिगरेसन पनि यसमा उपलब्ध छ।
पारामाउन्ट मोटर्सका अनुसार डारियोन इभीको मूल्य, ब्याट्री क्षमता, एकपटकको पूर्ण चार्जमा गुड्ने दूरी (रेन्ज), चार्जिङ समय तथा अन्य प्राविधिक विवरण नाइमा मोबिलिटी एक्स्पोका क्रममा औपचारिक रूपमा सार्वजनिक गरिनेछ। नयाँ विद्युतीय एमपीभीले नेपाली ईभी बजारमा पारिवारिक तथा व्यावसायिक दुवै वर्गका ग्राहकलाई आकर्षित गर्ने कम्पनीको अपेक्षा छ।

