काठमाडौँ । संघीय संसदलाई थप मर्यादित र अनुशासित बनाउन प्रतिनिधिसभाले नयाँ आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। सभामुख डोलप्रसाद अर्यालको पहलमा अब सांसदले संसद बैठकमा कालो चश्मा लगाउन नपाउने, मर्यादित पोशाक अनिवार्य लगाउनुपर्ने तथा कोटमा दलको आधिकारिक लोगो प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको हो।
बुधबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सभामुख अर्यालले सबै राजनीतिक दललाई आफ्ना सांसदलाई नयाँ नियमबारे जानकारी गराउन निर्देशन दिएका छन्। नियम उल्लङ्घन गर्ने सांसदलाई बैठकबाट बाहिर निकाल्नेसम्मको चेतावनी पनि उनले दिएका छन्।
उपसभामुख रुबीकुमारी ठाकुरका अनुसार नयाँ संसद भवनबाट बैठक सञ्चालन भएपछि यी नियम कडाइका साथ कार्यान्वयन गरिनेछ। मर्यादित पोशाक नलगाएका, कोटमा लोगो नलगाएका वा कालो चश्मा लगाएर आएका सांसदलाई संसद भवनमै प्रवेश गर्न नदिने व्यवस्था गरिने उनले बताइन्।
सभामुखले बैठक सञ्चालन भइरहेका बेला अनावश्यक रूपमा सांसद बाहिर निस्किने प्रवृत्तिमा पनि रोक लगाउने निर्णय गरेका छन्। अब अत्यावश्यक अवस्थाबाहेक बैठक छाडेर बाहिर जान नपाइने सहमति भएको छ। शौचालय प्रयोग, चिया–कफी, खाजा वा अत्यावश्यक फोन कलका लागि मात्र बाहिर जान सकिने व्यवस्था गरिएको छ।
यद्यपि, स्वास्थ्य समस्याका कारण कालो चश्मा अनिवार्य लगाउनुपर्ने अवस्था भए चिकित्सकको सिफारिससहितको मेडिकल प्रमाणपत्र पेश गर्नुपर्ने संसद सचिवालयले जनाएको छ।
बैठकमा सहभागी सबै दलका प्रतिनिधिले नयाँ नियम कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संसद सचिवालयका अनुसार यसअघि प्रधानमन्त्रीदेखि मन्त्री र विभिन्न सांसदहरू कालो चश्मा लगाएर बैठकमा उपस्थित हुने तथा कतिपय मन्त्रीहरू लोगोबिनै संसदमा आउने गरेका थिए। नयाँ व्यवस्था लागू भएपछि यस्तो अभ्यास पूर्ण रूपमा अन्त्य हुने अपेक्षा गरिएको छ।

