२०८३, श्रावण २५ गते

images
  • राजनीति
  • प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ...

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

images
शुक्रवार, श्रावण २२ २०८३०७:०३
शुक्रवार, श्रावण २२ २०८३०७:०३
  • काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । 

    त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नेछन्।

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नेछन् । 

    त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’  प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

    संसदीय समितिको बैठक बस्दै

    आजै तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

    बिहान १०ः३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम छ ।

    कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ । समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ ।

    पूर्वाधार विकास समितिको बैठकमा विद्युत्को वितरण लाइन, विद्युत्का पोलहरू व्यवसथापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल गर्ने कार्यक्रम छ । समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend