काठमाडौं। नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपाल (एफएएन) ले नेपाल फिनटेक एक्स्पो २०२६ को दोस्रो संस्करण आगामी असोज २३, २४ र २५ गते आयोजना गर्ने भएको छ। ललितपुरस्थित हेरिटेज गार्डेनमा हुने एक्स्पो यसपटक तीन दिनसम्म सञ्चालन हुनेछ।
पहिलो संस्करणको सफल आयोजनापछि दोस्रो संस्करणलाई अझ व्यापक, व्यवस्थित र अन्तर्राष्ट्रिय सहभागितायुक्त बनाउने तयारी गरिएको आयोजकले जनाएको छ। गत वर्ष दुई दिन सञ्चालन गरिएको एक्स्पोलाई यस वर्ष थप विस्तार गर्दै तीन दिने बनाइएको हो।
आयोजकका अनुसार एक्स्पोमा ६५ भन्दा बढी प्रदर्शनी स्टल तथा दुईवटा एक्सपेरियन्स जोन रहनेछन्। स्वदेशी तथा विदेशी फिनटेक कम्पनीहरूले कृत्रिम बौद्धिकता (एआई), डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, एम्बेडेड फाइनान्स, लेन्डिङ टेक्नोलोजी लगायत नवीनतम वित्तीय प्रविधि र समाधानहरू प्रदर्शन गर्नेछन्।
यसका साथै सहभागी कम्पनीहरूले आफ्ना नयाँ उत्पादन तथा सेवाको औपचारिक सार्वजनिककरण (प्रडक्ट लन्च) र प्रडक्ट रिभिलसमेत गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।
एक्स्पोको उद्घाटन समारोह असोज २३ गते (९ अक्टोबर २०२६) हेरिटेज गार्डेन परिसरभित्र रहेको क्लासिक भेन्युमा आयोजना गरिनेछ। ठूलो संख्यामा सहभागी हुने अपेक्षा, पर्याप्त पार्किङ सुविधा तथा विशिष्ट अतिथिहरूको सहज व्यवस्थापनलाई ध्यानमा राख्दै उद्घाटनका लागि उक्त स्थल छनोट गरिएको जनाइएको छ।
यस वर्षको एक्स्पोमा ६ हजारभन्दा बढी आगन्तुक सहभागी हुने अनुमान गरिएको छ। कार्यक्रममा बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, भुक्तानी सेवा प्रदायक, नियामक निकाय, सरकारी संस्था, लगानीकर्ता, प्रविधि कम्पनी, स्टार्टअप, विकास साझेदार, विद्यार्थी तथा प्रविधिप्रति रुचि राख्ने सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
हाल फिनटेक एलायन्स नेपालमा ५३ वटा कर्पोरेट सदस्य आबद्ध छन्। संस्थाले नेपालको फिनटेक इकोसिस्टमको विकास र सुदृढीकरणका लागि नियमित रूपमा फिनटेक फ्राइडे, फिनटेक सोसल तथा सीटीओ रिट्रिटजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यी कार्यक्रममार्फत प्रविधि क्षेत्रका नेतृत्वकर्ताबीच सहकार्य, अनुभव आदान–प्रदान र नवप्रवर्तनलाई प्रोत्साहन दिँदै आएको संस्थाको भनाइ छ।
आयोजकले नेपाल फिनटेक एक्स्पो २०२६ का लागि विभिन्न स्पोन्सरसिप प्याकेज पनि खुला गरिएको जानकारी दिएको छ।

