काठमाडौँ । लक्ष्मी ग्रुपले नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गरेर नेपाल भित्र्याउन लागेको जेटोर ब्रान्डका गाडीहरु नाइमा अटो शोमा नआउने भएको छ । लक्ष्मी ग्रुपले लामो प्रयासपछि नाइमा अटो शोमा जेटोर ब्राण्डको टी–२ मोडल भित्र्याउन लागेको थियो । तर, उत्तरी नाकामा अवरोधका कारण तत्कालै नाइम शो मा ब्रान्डका गाडी नआउने भएको हो ।
यही साउन २६ गतेदेखि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को आयोजना हुँदैछ । सो शो मा ५५ नयाँ ब्रान्डका गाडीहरु लन्च हुँदैछ । तर केही दिनदेखि रसुवागढी तथा तातोपानी नाकामा अवरोधका कारण नेपाल भित्रिन नपाएको हो । अहिले अटो शोलाई लक्षित गर्दै ल्याईएका नयाँ ब्रान्डका गाडीहरु नाकामा रोकिएको पाइएको छ ।
नाइमाका अनुसार ३५ भन्दा बढी नयाँ गाडीहरु भन्सारमै रोकिएका छन् । नाकामा रोकिएका कारण लक्ष्मी ग्रुपले ल्याउन लागेको चेरी ग्रुप अन्तर्गतको जेटोर ब्रान्डको गाडी समेत नाकामै रोकिएको हो ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दीपक थपलियाले गाडी नाकामा रोकिएको बताए । उनले नाइमामा ल्याउन लागिएको सो गाडी नाकामा रोकिएको भन्दै अटो शो मा तत्काल आउने सम्भावना न्यून रहेको बताए । उनले नाइमा शाे पछि गाडी नेपाल आउने बताए ।
‘मंगलबारदेखि सुरु हुने शोलाई लक्षित गर्दै कम्पनीले सोमबार जेटोर गाडीको औपचारिक उद्घाटन गर्ने तयारी समेत गरेको थियौँ । तर, नाकामा भएको अवरोधका कारण नाइमा शो पछि मात्रै नेपालमा औपचारिक रुपमा सो गाडी लन्च गर्ने हाम्रो तयारी छ’, उनले भने ।
यस्तो छ विशेषता
कम्पनीले ल्याउन लागेको सो गाडीको मुख्य विशेषता भनेको नै इभी तथा पेट्रोल दुबैबाट चल्ने हो । मुख्यगरी अफ रोडलाई प्राथमिकतामा राखिएको उक्त गाडीमा उपभोक्ताले आफ्नो आवश्यकता अनुसारको फूय प्रयोग गर्न पाउनु हो ।
काठमाडौँ उपत्यकाभित्र विद्युत अर्थात ईभी अर्थात उपत्यकाभन्दा बाहिर जानुपर्दा ग्राहकले पेट्रोलको प्रयोग गर्न सक्नु रहेको महाप्रबन्धक थपलियाले बताए । ‘अहिले धेरै उपभोक्ताले पूर्ण रुपमा लामो यात्रामा विद्युतीय गाडीको प्रयोग गर्न डराइरहेको अवस्था छ । जेटोर गाडी त्यही डराउने ग्राहकलाई लक्षित गर्दै हामीले ल्याउन लागेको नयाँ गाडी हो । एउटै गाडीलाई इभी वा पेट्रोलमा परिवर्तन गर्नसक्नु हो’, उनले भने ।
अहिले जेटोर ब्रान्डका गाडीहरु अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाइरहेको ब्राण्डमा पर्छ । जेटोर ब्राण्ड सन् २०१८ मा स्थापना भएको कम्पनी हो । जेटोर लाइफ स्टाइल र अफरोड भेहिकल उत्पादक कम्पनी हो । यसको अफरोड एसयूभीहरू अष्ट्रेलिया, मध्यपूर्वि एशिया र अफ्रिकामा निकै सफल मानिन्छन् । ती देशहरुमा अडर गरेको ६ महिनाभन्दा बढी समयपछि मात्रै डेलिभरी हुँदै आएको छ ।

