२०८३, आश्विन १९ गते

images
  • अटो
  • ५५ ब्रान्ड र ४० नयाँ मोडलसहित...

५५ ब्रान्ड र ४० नयाँ मोडलसहित नाइमा मोबिलिटी एक्स्पो आजदेखि, ईभीदेखि लक्जरी कारसम्मको जमघट

५५ ब्रान्ड र ४० नयाँ मोडलसहित नाइमा मोबिलिटी एक्स्पो आजदेखि, ईभीदेखि लक्जरी कारसम्मको जमघट

मंगलवार, श्रावण २६ २०८३०७:१४
मंगलवार, श्रावण २६ २०८३०७:१४
  • images

    काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा नाइमा मोबिलिटी एक्स्पो २०२६ आज (मंगलबार)देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा नेपाल तथा अन्तर्राष्ट्रिय बजारका ५५ वटा अटोमोबाइल ब्रान्ड सहभागी हुँदैछन्।

    नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, सेवा तथा मोबिलिटीसँग सम्बन्धित विभिन्न उत्पादन प्रदर्शनमा राखिनेछन्। यात्रुवाहक विद्युतीय सवारीसाधन (ईभी) एक्स्पोको मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।

    भृकुटीमण्डपको प्रदर्शनी हलमा ५१ भन्दा बढी स्टल निर्माण गरिएको छ। सहभागी ब्रान्डहरूले आफ्नै पहिचान झल्किने गरी स्टल सजाएका छन्। यसपटकको एक्स्पोको प्रमुख आकर्षणका रूपमा ४० वटा नयाँ ब्रान्ड तथा मोडल सार्वजनिक गरिँदैछन्।

    एक्स्पोमा बिवाइडी, निसान, टाटा, टोयोटा, हुन्डाई, किया र महिन्द्राजस्ता स्थापित ब्रान्डसँगै फोर्थिङ, डोङफेङ, लिपमोटर र म्याक्ससजस्ता ब्रान्डको पनि सहभागिता रहनेछ।

    पारामाउन्ट मोटर्सको स्टलमा होङ्ची गुओली विशेष आकर्षण बन्नेछ। कम्पनीले एक्स्पोमार्फत आठवटा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ।

    त्यस्तै, टोयोटाले आफ्नो स्टलमा दुईवटा नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ। एक्स्पो अवधिभर सवारीसाधन खरिदमा ३ लाखदेखि २१ लाख रुपैयाँसम्मको छुट दिने घोषणा पनि टोयोटाले गरेको छ।

    चारपांग्रे सवारीसाधनसँगै दुईपांग्रे र तीनपांग्रे सवारीसाधनको समेत एक्स्पोमा उल्लेख्य उपस्थिति रहनेछ। टिभिएसलगायतका कम्पनीले आफ्ना नयाँ स्कुटर तथा मोटरसाइकल प्रदर्शन गर्नेछन्।

    पछिल्लो समय नेपाली बजारमा तीव्र रूपमा लोकप्रिय बन्दै गएको विद्युतीय सवारीसाधन (ईभी) एक्स्पोको महत्वपूर्ण हिस्सा बनेको छ। विभिन्न ब्रान्डले ईभीमा आकर्षक छुट तथा अफर सार्वजनिक गरेका छन्। नाइमाका अनुसार एक्स्पो अवधिमा ग्राहकले आफूलाई मनपर्ने सवारीसाधन बुकिङसमेत गर्न सक्नेछन्।

    विद्युत् अवरोध भए पनि एक्स्पो नरोकिने

    वर्षायाममा विद्युत् आपूर्तिमा हुन सक्ने अवरोधलाई ध्यानमा राख्दै आयोजकले एक्स्पोस्थलमा ठूला क्षमताका जेनेरेटरको ब्याकअप व्यवस्था गरेको छ। दर्शकको सहजताका लागि प्रदर्शनी हलभित्र स्पष्ट दिशानिर्देश, पर्याप्त वासरुम तथा अन्य आवश्यक सुविधा उपलब्ध गराइएको नाइमाले जनाएको छ।

    नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले गत वर्ष पहिलोपटक आयोजना गरिएको एक्स्पोले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएपछि यस वर्ष यसको दायरा थप विस्तार गरिएको बताइन्।

    उनका अनुसार गत वर्ष ४२ वटा ब्रान्ड सहभागी भएकामा यसपटक संख्या बढेर ५५ पुगेको छ। ब्रान्डको सहभागिता बढ्नु नाइमाका लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।

    वैद्यले नाइमा एक्स्पोलाई सवारीसाधन प्रदर्शन गर्ने थलोमा मात्र सीमित नराखी अटोमोबाइलप्रेमी, व्यवसायी र आम उपभोक्तालाई एउटै छानामुनि जोड्ने साझा मञ्चका रूपमा विकास गर्न खोजिएको बताइन्।

    उनका अनुसार एक्स्पोलाई अटोमोबाइल क्षेत्रका नयाँ प्रविधि, नवीनता र सम्भावनासँग प्रत्यक्ष रूपमा जोडिने अवसरका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

    गत वर्ष आयोजित पहिलो नाइमा एक्स्पोमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकको दाबी छ। यसपटक भने गत वर्षको तुलनामा अझ बढी दर्शक भित्र्याउने लक्ष्य नाइमाले राखेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend