काठमाडौं । हुन्डाईको नयाँ पुस्ताको कम्प्याक्ट एसयूभी भेन्यु नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मंगलबारदेखि काठमाडौंमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६मा अल न्यु भेन्यु सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो।
कम्पनीले नयाँ भेन्युलाई नेपालमा ४ वटा भेरियन्टमा उपलब्ध गराएको छ। यसको सुरुआती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, स्पोर्टी एन लाइन भेरियन्टको मूल्य ६७ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ।
नयाँ जेनेरेशन भेन्युको महत्वपूर्ण विशेषता भनेको यो नेपालमै एसेम्बल भएको एसयूभी हो। लक्ष्मी मोटर कर्पोरेशनले नेपालमै एसेम्बल गरेको नयाँ भेन्यु अघिल्लो पुस्ताको तुलनामा डिजाइन, प्रविधि, सुरक्षा तथा आरामदायी सुविधामा व्यापक परिमार्जनसहित आएको कम्पनीको दाबी छ।
पहिलो पटक लेभल–२ एडीएएस
हुन्डाईले नयाँ भेन्युमा पहिलो पटक एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) लेभल–२ उपलब्ध गराएको छ। यसले नयाँ भेन्युलाई सुरक्षा तथा ड्राइभिङ प्रविधिका हिसाबले थप आधुनिक बनाएको छ।
भेरियन्टअनुसार नयाँ भेन्युमा ३६० डिग्री क्यामेरा, विभिन्न ड्राइभ तथा ट्र्याक्सन मोड, विन्डो सनसेड, फ्रन्ट पार्किङ सेन्सर र रिक्लाइनिङ रियर सिट जस्ता सुविधा उपलब्ध छन्। त्यस्तै, इलेक्ट्रिक पार्किङ ब्रेक र अटो होल्डले ड्राइभिङलाई थप सहज बनाउने कम्पनीको भनाइ छ।
१२.३ इन्चका दुई ठूला स्क्रिन
नयाँ भेन्युको इन्टेरियरमा पनि उल्लेख्य परिवर्तन गरिएको छ। ड्यासबोर्डमा १२.३ इन्चका दुईवटा ठूला स्क्रिन राखिएका छन्। पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमले क्याबिनलाई थप आधुनिक बनाएको छ।
टप भेरियन्टमा बोसका ८ स्पिकर उपलब्ध छन्। यसले विशेषगरी संगीतप्रेमी ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
यसपटक हुन्डाईले आवश्यक नियन्त्रणका लागि फिजिकल बटनको प्रयोगलाई पनि बढाएको छ। त्यस्तै, भेन्टिलेटेड सिटलगायतका सुविधाले यात्रालाई थप आरामदायी बनाउनेछ।
डिजाइनमा व्यापक परिवर्तन
नयाँ भेन्युको बाहिरी डिजाइन अघिल्लो मोडलभन्दा पूर्ण रूपमा फरक देखिन्छ। अगाडिको फेसिया, पछाडिको डिजाइन तथा लाइटिङमा व्यापक परिवर्तन गरिएको छ। एलईडी लाइटको प्रयोगले एसयूभीलाई थप आकर्षक र आधुनिक लुक दिएको छ।
कम्पनीले १६ इन्चको ह्वील साइजलाई निरन्तरता दिए पनि ह्वीलको डिजाइन भने नयाँ राखेको छ।
इन्जिनमा भने परिवर्तन छैन
डिजाइन र फिचरमा ठूलो परिवर्तन भए पनि नयाँ भेन्युमा उपलब्ध इन्जिन विकल्पमा भने खासै परिवर्तन गरिएको छैन। नेपालमा भेन्यु १.२ लिटर कप्पा पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछ।
१.२ लिटर पेट्रोल इन्जिनमा ५–स्पीड म्यानुअल गियरबक्स दिइएको छ भने १.० लिटर टर्बो पेट्रोलमा ७–स्पीड डुअल क्लच ट्रान्समिसन (DCT) उपलब्ध छ। डिजेल भेरियन्टमा भने ६–स्पीड म्यानुअल र ६–स्पीड अटोमेटिक गियरबक्सको विकल्प दिइएको छ।
नेपालमै एसेम्बल, नयाँ डिजाइन, थप प्रिमियम क्याबिन र पहिलो पटक लेभल–२ एडीएएससहित आएको अल न्यु भेन्युले नेपाली कम्प्याक्ट एसयूभी बजारमा आफ्नो प्रतिस्पर्धात्मकता थप बलियो बनाउने अपेक्षा गरिएको छ।

