काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै बैंकहरूले सवारीसाधन खरिद कर्जामा विशेष ब्याजदर तथा सहुलियतपूर्ण योजना सार्वजनिक गरेका छन्। विद्युतीयदेखि पेट्रोलियम इन्धनबाट चल्ने सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई आकर्षित गर्न ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले छुट्टाछुट्टै कर्जा योजना ल्याएका हुन्।
एक्स्पोमा विभिन्न ब्रान्डले नयाँ मोडल, मूल्य तथा आकर्षक अफर सार्वजनिक गरिरहेका बेला बैंकहरूबीच पनि सस्तो ब्याजदरमा अटो लोन उपलब्ध गराउने प्रतिस्पर्धा देखिएको छ।
ग्लोबल आइएमईको ब्याजदर ५.२५ प्रतिशतदेखि
ग्लोबल आइएमई बैंकले नाइमा एक्स्पोलाई लक्षित गर्दै विद्युतीय तथा पेट्रोलियम इन्धनबाट चल्ने दुवै प्रकारका सवारीसाधन खरिदका लागि ५.२५ प्रतिशतदेखि सुरु हुने ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ।
व्यावसायिक सवारीसाधन खरिदका लागि भने बैंकले आधार दरमा ३ प्रतिशत थप गरी कर्जा उपलब्ध गराउने योजना ल्याएको छ।
सिद्धार्थ बैंकको आधार दरमा १ प्रतिशत थप
सिद्धार्थ बैंकले पनि नाइमा मोबिलिटी एक्स्पोका लागि विशेष अटो लोन योजना ल्याएको छ। बैंकले आधार दरमा १ प्रतिशत थप गरी सवारीसाधन खरिद कर्जा उपलब्ध गराउने जनाएको छ।
बैंकको आधार दर ५.०५ प्रतिशत रहेकाले हालको आधारमा कर्जाको ब्याजदर करिब ६.०५ प्रतिशत पर्ने देखिन्छ। बैंकले कर्जा प्रवाह गर्दा ०.५ प्रतिशत प्रशोधन शुल्क लिने जनाएको छ।
विद्युतीय सवारीमा एनएमबिको विशेष योजना
एनएमबि बैंकले भने विशेषगरी नयाँ विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले आधार दरमा ०.५ प्रतिशत थप गरी कर्जा उपलब्ध गराउने जनाएको छ।
वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले नाइमा मोबिलिटी एक्स्पोका लागि उक्त योजना ल्याइएको बैंकको भनाइ छ।
एनएमबिका अनुसार यो सुविधा सीमित अवधिका लागि उपलब्ध हुनेछ र कर्जा प्रक्रिया सरल तथा छिटो बनाइएको छ। नयाँ विद्युतीय सवारी खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा रहेको बैंकको स्टल नम्बर ०५ वा देशभरका बैंक शाखामार्फत कर्जाका लागि आवेदन दिन सक्नेछन्।
सवारी खरिदकर्तालाई थप सहज
नाइमा मोबिलिटी एक्स्पोमा सहभागी विभिन्न सवारीसाधन कम्पनीले नयाँ मोडलसँगै छुट, एक्सचेन्ज, फाइनान्सिङलगायतका अफर सार्वजनिक गरिरहेका छन्। त्यसैबीच बैंकहरूले पनि कम ब्याजदरमा अटो लोन उपलब्ध गराउने योजना ल्याएपछि सवारी खरिदकर्ताले थप वित्तीय विकल्प पाउने भएका छन्।
विशेषगरी विद्युतीय सवारीसाधनको खरिदलाई प्रोत्साहन गर्ने गरी बैंकहरूले ल्याएका कर्जा योजनाले एक्स्पो अवधिमा बुकिङ तथा खरिद बढाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।

