काठमाडौँ । चीनको प्रतिष्ठित अटोमोबाइल निर्माता डोङफेङ (DONGFENG) का बस नेपाली बजारमा सार्वजनिक भएका छन्। हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार एक्स्पोमा ७.२ मिटर लम्बाइका दुई प्रकारका बस सार्वजनिक गरिएको छ। तीमध्ये एउटा बसमा २५+१ सिट र अर्कोमा २७+१ सिट क्षमता रहेको छ। सार्वजनिक गरिएका बसको मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ।
नाइमा अटो एक्स्पोलाई लक्षित गर्दै कम्पनीले पहिलो ५० जना ग्राहकका लागि विशेष छुटको योजनासमेत ल्याएको छ। एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० ग्राहकले ५ लाख रुपैयाँसम्मको विशेष छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
विश्व बजारमा स्थापित डोङफेङ नेपालमा बस बजारमा
सन् १९६९ मा स्थापना भएको डोङफेङ चीनका ठूला अटोमोबाइल उत्पादकमध्ये एक हो। कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी तथा विभिन्न अटोमोबाइल पार्टपुर्जा उत्पादन गर्दै आएको छ।
पाँच दशकभन्दा लामो अनुभव बोकेको डोङफेङका उत्पादन विश्वका विभिन्न मुलुकमा बिक्री तथा सञ्चालन हुँदै आएका छन्। कम्पनीका अनुसार उसका उत्पादन १०० भन्दा बढी देशमा निर्यात भइरहेका छन्।
नेपालमा पनि डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबस बिक्री हुँदै आएका छन्। अब बसको क्षेत्रमा प्रवेशसँगै नेपाली बजारमा ब्रान्डको उपस्थिति थप विस्तार हुने कम्पनीको अपेक्षा छ।
विद्युतीय बसको बढ्दो मागलाई ध्यानमा राखेर प्रवेश
हिमालयन अर्गनाइजेसनअन्तर्गतका कम्पनीहरूले यसअघि भारतको FORCE MOTORS तथा चीनको SAIC समूहअन्तर्गतको MAXUS का सवारीसाधन नेपालमा बिक्री गर्दै आएका छन्।
नेपालमा ठूला विद्युतीय बसलाई प्राथमिकता दिने सरकारी नीति तथा ठूला क्षमताका बसप्रति ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राखेर डोङफेङका बस नेपाल ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सार्वजनिक गरिएका बसमा ग्राहकको आवश्यकताअनुसार विभिन्न सुविधा थप गर्न सकिनेछ।
ग्राहकको रोजाइअनुसार सुविधा थप्न सकिने
कम्पनीले ग्राहकको मागअनुसार बसमा एयर कन्डिसन, लक्जरी सिट तथा अन्य सुविधा थप गर्न सकिने जनाएको छ। हाल सार्वजनिक गरिएको बसमा एयर कन्डिसन नभए पनि ग्राहकको आवश्यकताअनुसार उक्त सुविधा जडान गरेर उपलब्ध गराउन सकिने कम्पनीको भनाइ छ।
त्यस्तै, लक्जरी सिट पनि ग्राहकको रोजाइअनुसार राख्न सकिनेछ। बसमा एक वा दुईवटा प्रवेशद्वार राख्न सकिने व्यवस्था गरिएको छ। दुईवटा प्रवेशद्वार राख्दा भने दुई सिट घट्ने कम्पनीले जनाएको छ।
बसमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको छ। ग्राहकले थप शुल्क तिरेर थप तीन वर्षको एक्स्टेन्डेड वारेन्टीसमेत लिन सक्नेछन्।
थप तीन मोडलका बस ल्याउने तयारी
आयाम इन्टरकन्टिनेन्टलले आगामी दिनमा डोङफेङकै थप मोडलका बस नेपाल ल्याउने तयारी गरेको छ।
कम्पनीका अनुसार निकट भविष्यमा ८.२ मिटरको स्कुल बस, ९ मिटरको ३८ सिट क्षमताको बस तथा १२ मिटरको ५२ सिट क्षमताको बस नेपाली बजारमा ल्याइनेछ।
यी बसको मूल्य तथा अन्य प्राविधिक विवरण भने पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ। यद्यपि, आगामी दिनमा ल्याइने बसहरू नेपालमा उपलब्ध अन्य ब्रान्डका समान क्षमताका बसको तुलनामा प्रतिस्पर्धी तथा तुलनात्मक रूपमा कम मूल्यमा उपलब्ध गराउने कम्पनीको दाबी छ।
थप बसका लागि एक्स्पोमै बुकिङ गर्ने ग्राहकलाई विशेष छुटको योजना ल्याउने तयारीसमेत कम्पनीले गरेको छ।
देशभर बिक्रीपछिको सेवा
डोङफेङका बस बिक्रीसँगै बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको उपलब्धतालाई पनि प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।
हिमालयन अर्गनाइजेसनअन्तर्गतका कम्पनीका नेपालका विभिन्न सहरमा रहेका शाखा तथा डिलरमार्फत सर्भिस तथा स्पेयर पार्ट्सको सुविधा उपलब्ध गराइने कम्पनीको भनाइ छ।
यससँगै डोङफेङका बसले नेपाली सार्वजनिक तथा व्यावसायिक यातायात बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ। विशेषगरी प्रतिस्पर्धी मूल्य, ग्राहकको मागअनुसार सुविधा थप गर्न सकिने व्यवस्था र बिक्रीपछिको सेवालाई कम्पनीले आफ्नो मुख्य आकर्षणका रूपमा अघि सारेको छ।

