काठमाडौँ । ललितपुर महानगरपालिकाले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पुर्याउँदा बाटोमै आवश्यक प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यले महानगरले नयाँ सेवा सुरु गरेको हो।
सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवाको शुभारम्भ गरिन्।
सेवा शुभारम्भ गर्दै मन्त्री मेहताले चिकित्सकसहितको एम्बुलेन्स सञ्चालनमा ल्याएर ललितपुर महानगरपालिकाले उदाहरणीय कामको थालनी गरेको बताइन्। आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ निकै महत्वपूर्ण हुने उल्लेख गर्दै उनले घटनास्थलबाट अस्पतालसम्म पुग्ने समय कम गर्न सके बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन सकिने बताइन्।
ट्राफिक जामलगायतका कारण अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्न सक्ने भन्दै मन्त्री मेहताले महानगरपालिकाको स्वास्थ्यसम्बन्धी अभियानमा मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा ‘प्रि–हस्पिटल केयर’ सुधारका लागि महत्वपूर्ण पहल भएको बताए। विश्वका सीमित स्थानमा मात्रै यस्तो सेवा सञ्चालनमा रहेको उल्लेख गर्दै उनले अस्पताल पुग्नुअघि नै बिरामीलाई आवश्यक उपचार उपलब्ध गराउन यसले महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनका अनुसार साउन महिनामा मात्रै ललितपुर महानगरपालिकासँगको सहकार्यमा सञ्चालित स्वास्थ्य केन्द्रबाट १० हजार ४१ जनाले स्वास्थ्य सेवा लिएका छन्। तीमध्ये करिब ३ हजार जनाले अल्ट्रासाउन्ड सेवा लिएको उनले जानकारी दिए।
महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकाती सहरमा चिकित्सकसहितको एम्बुलेन्स सेवा देखेपछि ललितपुरमा पनि यस्तै सेवा सञ्चालन गर्ने अवधारणा अघि बढाइएको बताए। महानगरपालिकाको नवौँ नगरसभाबाट प्रस्ताव पारित भएपछि आवश्यक बजेट व्यवस्थापन गरी सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
प्रमुख महर्जनका अनुसार नयाँ एम्बुलेन्स सेवा विशेषगरी आकस्मिक अवस्थाका बिरामीलाई लक्षित गरिएको छ। चिकित्सकसहितको टोली घटनास्थलमा पुगेर बिरामीको प्रारम्भिक अवस्था जाँच गर्ने, आवश्यक उपचार उपलब्ध गराउने र त्यसपछि उपयुक्त अस्पतालमा पुर्याउने व्यवस्था गरिएको छ।
महानगरपालिकाले एम्बुलेन्समा फोनमार्फत अनुरोध प्राप्त भएको १५ मिनेटभित्र घटनास्थलमा पुग्ने लक्ष्य राखेको छ। साथै, बिरामीको इच्छाअनुसार उनीहरूले रोजेको अस्पतालसम्म पुर्याउने व्यवस्था गरिएको महानगरले जनाएको छ।
सेवा सञ्चालनका क्रममा देखिने समस्या तथा कमजोरीलाई क्रमशः सुधार गर्दै लैजाने प्रमुख महर्जनले बताए। चिकित्सकसहितको एम्बुलेन्स सञ्चालन चुनौतीपूर्ण भए पनि काम गर्दै सिक्ने र सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने उनको भनाइ छ।
एम्बुलेन्स सेवा सञ्चालनका लागि ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको छ। सम्झौताअनुसार एम्बुलेन्स सेवाका लागि आवश्यक चिकित्सक उपलब्ध गराउने तथा चिकित्सकको सेवा–सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्नेछ।
महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग लामो समयदेखि सहकार्य गर्दै आएको जनाएको छ। नयाँ सेवाले आकस्मिक अवस्थामा बिरामीले अस्पताल पुग्नुअघि नै चिकित्सकीय सहायता पाउने भएकाले आपत्कालीन स्वास्थ्य सेवामा सुधार आउने अपेक्षा गरिएको छ।

