२०८३, आश्विन १९ गते

images
  • अटो
  • नाडा अटो शो २०२६ भदौ ९...

नाडा अटो शो २०२६ भदौ ९ देखि, २ सयभन्दा बढी स्टलमा नयाँ सवारीसाधनदेखि अटो पार्ट्ससम्म

नाडा अटो शो २०२६ भदौ ९ देखि, २ सयभन्दा बढी स्टलमा नयाँ सवारीसाधनदेखि अटो पार्ट्ससम्म

मंगलवार, भाद्र २ २०८३०६:४७
मंगलवार, भाद्र २ २०८३०६:४७
  • images

    काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको ठूलो प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने शोको यो १८औँ संस्करण हो। नाडाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यसपटकको प्रदर्शनीलाई ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा भव्यरूपमा आयोजना गर्न लागिएको नाडाले जनाएको छ।

    ६ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा साना–ठूला गरी २ सयभन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा नेपालमा एसेम्बल हुने सवारीसाधनसहित विभिन्न अटोमोबाइल उत्पादन तथा सेवाहरू प्रदर्शन गरिने नाडा अटो शो का संयोजक अनुप कुमार बरालले जानकारी दिए ।

    उनका अनुसार प्रदर्शनीमा २३ वटा ब्रान्डका पेसेन्जर कार, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल र १३ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुनेछन्। त्यस्तै, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोटिभ पार्ट्स, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका स्टल रहनेछन्।

    प्रदर्शनीमा लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेटलगायत नेपालमै एसेम्बल तथा उत्पादन हुने सामग्रीसमेत राखिनेछ। दुईपांग्रे, चारपांग्रे, वित्तीय सेवा, अटो कम्पोनेन्ट्स र ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै प्रदर्शनी क्षेत्र बनाइने आयोजकले जनाएको छ।

    टिकटमा ५० प्रतिशतसम्म क्यासब्याक

    अटो शोको टिकट अग्रिम रूपमा खल्ती एपमार्फत बुक गर्न सकिनेछ। आयोजकका अनुसार निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको छ।

    आगन्तुकको सहजताका लागि प्रदर्शनीस्थलमा महानगरीय ट्राफिक प्रहरीको साझेदारीमा ट्राफिक सूचना डेस्कसमेत राखिनेछ।

    पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अन्डरग्राउन्ड पार्किङ र सिंहदरबारस्थित नेशनल ट्रेडिङ परिसर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

    प्रदर्शनीस्थललाई ह्वीलचेयरमैत्री बनाइएको छ भने आगन्तुकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आपत्कालीन स्वास्थ्य टोलीसमेत परिचालन गरिनेछ।

    दुई लाख आगन्तुक आउने अपेक्षा

    आयोजकले यसपटकको नाडा अटो शोमा करिब दुई लाख आगन्तुक आउने अपेक्षा गरेको छ। प्रदर्शनीको शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ।

    नाडाका अनुसार अटो शोले नयाँ सवारीसाधन तथा प्रविधिबारे उपभोक्तालाई जानकारी दिनुका साथै अटोमोबाइल व्यवसायीबीच व्यावसायिक सञ्जाल विस्तार गर्न सहयोग पुर्‍याउनेछ।

    त्यस्तै, प्रदर्शनीले नेपालको अटोमोबाइल उद्योगमा जनचेतना अभिवृद्धि, व्यवसाय विस्तार तथा उद्योगको निरन्तर विकासमा समेत योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend