काठमाडौं । आगामी भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शो मा एमएडब्लू वृद्धिले डोङफेङको एम हिरो–१ राख्ने भएको छ ।
नेपालमा विद्युतीय एसयूभीको बजार विस्तार भइरहेका बेला एमएडब्लू वृद्धिले अटो शो कै लागि डोङफेङको शक्तिशाली र विलासी एम हिरो–१ नेपाल ल्याएको हो ।
एमएडब्लू वृद्धिले नाडा अटो शोमार्फत नेपाली बजारमा एम हिरो–१ लाई औपचारिक रुपमा उद्घाटन गरिने जनाएको छ । अफरोड क्षमता, उच्च पावर र विलासी डिजाइनलाई प्राथमिकता दिइएको यो विद्युतीय एसयूभीले इलेक्ट्रिक हमर तथा मर्सिडिज बेन्ज जी–क्लासजस्ता प्रिमियम अफरोड एसयूभीसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।
१ हजार एचपीभन्दा बढी पावर
एम हिरो–१ मा चारवटा विद्युतीय मोटर जडान गरिएको छ। यी मोटरले संयुक्त रूपमा ८०० किलोवाट अर्थात् करिब १ हजार ८८ एचपी पावर उत्पादन गर्छन्। यसको अधिकतम टर्क १ हजार ४०० न्यूटन मिटर रहेको छ।
करिब ३।५ टन तौल भएको यो एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ४।२ सेकेन्डमै हासिल गर्न सक्ने कम्पनीको दाबी छ।
एसयूभीमा १४२।७ किलोवाट आवरको ब्याट्री प्याक प्रयोग गरिएको छ। डब्लूएलटीपी परीक्षणअनुसार पूर्ण चार्जमा यसले करिब ४५० किलोमिटर यात्रा गर्न सक्ने बताइएको छ।
३३० एमएमसम्म ग्राउन्ड क्लियरेन्स
एम हिरो–१ लाई विशेषगरी कठिन भू–भागमा चलाउन सकिने गरी डिजाइन गरिएको छ। एयर सस्पेन्सनयुक्त यो एसयूभीको सामान्य ग्राउन्ड क्लियरेन्स २४० एमएम छ भने आवश्यकताअनुसार यसलाई ३३० एमएमसम्म बढाउन सकिन्छ।
त्यस्तै, करिब ९०० एमएम गहिरो पानी पार गर्न सक्ने क्षमता पनि यसमा रहेको बताइएको छ। अफरोड ड्राइभिङका लागि बालुवा, चट्टान, हिलो र पानीका लागि छुट्टाछुट्टै ड्राइभ मोड उपलब्ध छन्।
भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शोमा एम हिरो–१ नेपाली उपभोक्ताले प्रत्यक्ष रूपमा हेर्न र यसको विशेषताबारे जानकारी लिन सक्नेछन्।
तर यो एसयूभी तत्कालै बजारमा बिक्रीका लागि भने उपलब्ध हुने छैन। एमएडब्लू वृद्धिका अनुसार एम हिरो–१ को बिक्री वितरण सन् २०२७ जनवरीदेखि सुरु गर्ने तयारी गरिएको छ।
यस हिसाबले नाडा अटो शोमा यसको पहिलो झलक पाए पनि नेपाली सडकमा एम हिरो–१ देखिन उपभोक्ताले अझै केही समय कुर्नुपर्नेछ।
शक्तिशाली इलेक्ट्रिक मोटर, लामो रेन्ज र आक्रामक अफरोड डिजाइनका कारण एम हिरो–१ यसपटकको नाडा अटो शोका आकर्षणमध्ये एक बन्ने अपेक्षा गरिएको छ।

