२०८३, आश्विन १९ गते

images
  • अटो
  • ३६ लाखमै नेपालमा आयो नामी भिगो...

३६ लाखमै नेपालमा आयो नामी भिगो ई–२, यस्तो छ विशेषता

३६ लाखमै नेपालमा आयो नामी भिगो ई–२, यस्तो छ विशेषता

बिहिवार, भाद्र ४ २०८३०७:२९
बिहिवार, भाद्र ४ २०८३०७:२९
  • images

    काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नयाँ विद्युतीय एसयूभी नामी भिगो ई–२ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै यो गाडी ३५ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा बिक्री सुरु गरेको हो ।

    कम्पनीका अनुसार अटो शो अवधिपछि नामी भिगो ई–२ को मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ । यसअघि उपलब्ध बेस भेरियन्टको तुलनामा नयाँ भेरियन्ट करिब ५ लाख रुपैयाँ सस्तो छ ।

    एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णु अग्रवालले भिगो ई–२ लाई कम्प्याक्ट कारभन्दा माथिको श्रेणीमा राख्दै पारिवारिक प्रयोजनका लागि उपयुक्त ‘फुल एसयूभी’का रूपमा बजारमा ल्याइएको बताए ।

    सरकारले नयाँ बजेटमार्फत विद्युतीय सवारीसाधनको ड्युटी संरचनामा हेरफेर गरेपछि त्यसबाट आएको लाभ ग्राहकलाई नै दिने उद्देश्यले विशेष मूल्य निर्धारण गरिएको उनको भनाइ छ । कम्पनीले ड्युटीबाट प्राप्त हुने मूल्य अन्तरलाई आफ्नो नाफामा राख्नुको सट्टा ग्राहकलाई हस्तान्तरण गरेको अग्रवालले बताए ।

    ३६ लाखभन्दा कममै फुल एसयूभी

    नामी भिगो ई–२ को सबैभन्दा आकर्षक पक्ष यसको मूल्यसँगै एसयूभीको आकार, फिचर र विद्युतीय क्षमताको संयोजन हो । कम्पनीले यस संस्करणमा मुनरुफ हटाएर मूल्य घटाएको हो । तर मुनरुफबाहेक अन्य प्रमुख फिचरहरू भने यथावत राखिएको कम्पनीले जनाएको छ ।

    अग्रवालका अनुसार नामी भिगोले नेपालको चुनौतीपूर्ण भूगोलमा समेत आफ्नो क्षमता प्रमाणित गरिसकेको छ । मनाङ, मुस्ताङ, सोलुखुम्बु र शुक्लाफाँटाजस्ता क्षेत्रसम्म गाडी पुगिसकेको उनले बताए ।

    दुई ब्याट्री विकल्प, ३५० किलोमिटरसम्म रेन्ज

    नामी भिगो ई–२ दुईवटा ब्याट्री विकल्पमा उपलब्ध छ । यसमा ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवर क्षमताका ब्याट्री प्याक दिइएका छन् ।

    कम्पनीका अनुसार डब्लूएलटीपी मापदण्डअनुसार यी ब्याट्रीले क्रमशः ३०० किलोमिटर र ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छन् ।

    गाडीले १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसले लामो दूरीको यात्राका क्रममा चार्जिङ समय घटाउन सहयोग गर्ने कम्पनीको दाबी छ ।

    प्रविधि र आराममा पनि प्रशस्तै फिचर

    नामी भिगो ई–२ मा प्रविधि र आरामलाई विशेष प्राथमिकता दिइएको छ । गाडीमा १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल डिस्प्ले, भ्वाइस कन्ट्रोल र ३६० डिग्री क्यामेरा उपलब्ध छन् ।

    यसमा नेभिगेसन, रेस्ट र स्नो मोडसहितको एसी प्रणाली, ५० वाटको वायरलेस चार्जर, वान–टच रियर सिट फोल्ड तथा अगाडिका सिटलाई पूर्ण रूपमा बेडमा रूपान्तरण गर्न सकिने सुविधा दिइएको छ ।

    त्यसैगरी, वेलकम तथा मेमोरी सिट, एम्बियन्ट लाइट, हेभन एन्ड अर्थ टेलगेट, बाहिरी स्पीकर, हिटेड तथा भेन्टिलेटेड ड्राइभर सिट र १८ इन्चको ह्वील पनि गाडीका प्रमुख आकर्षण हुन् ।

    गाडीमा ३५ भन्दा बढी स्थानमा स्टोरेज स्पेस उपलब्ध रहेको कम्पनीले जनाएको छ, जसले पारिवारिक प्रयोगमा व्यावहारिकता बढाउने अपेक्षा गरिएको छ ।

    सुरक्षामा एडास लेभल–२

    सुरक्षाका हिसाबले पनि नामी भिगो ई–२ मा आधुनिक फिचरहरू समावेश गरिएको छ । गाडीमा ६ वटा एयरब्याग, अटोहोल्ड, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल र ट्र्याक्सन कन्ट्रोलजस्ता सुरक्षा प्रणाली छन् ।

    यसका अतिरिक्त एडास लेभल–२ प्रविधि उपलब्ध गराइएको छ । ड्राइभिङ अनुभवलाई थप सहज बनाउन इको, स्ट्यान्डर्ड र स्पोर्ट गरी तीनवटा ड्राइभिङ मोड तथा तीनवटा स्टेरिङ मोड दिइएको छ ।

    नेपालमा बढ्दो नामीको उपस्थिति

    एमएडब्लू वृद्धि मोटर्सका अनुसार डोङफेङ नामी नेपालमा दोस्रो ठूलो चिनियाँ ईभी आयातकर्ता ब्रान्डका रूपमा स्थापित भइसकेको छ । कम्पनीका अनुसार नेपालभर नामीका २ हजारभन्दा बढी ग्राहक रहेका छन् ।

    विश्व बजारमा ब्याट्रीको अभाव र उच्च मागका कारण विद्युतीय सवारीसाधनको आपूर्तिमा केही चुनौती रहे पनि नेपालमा ईभीको प्रयोग उल्लेख्य रूपमा बढिरहेको अग्रवालले बताए ।

    सन् १९६४ मा विराटनगरको एउटा सानो वर्कसपबाट सुरु भएको एमएडब्लूको यात्रा अहिले नेपालको ठूलो अटोमोबाइल समूहका रूपमा विस्तार भएको छ । यही अनुभव र विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षणलाई आधार बनाउँदै कम्पनीले नामी भिगो ई–२ लाई नेपाली बजारमा थप प्रतिस्पर्धी मूल्यमा उतारेको हो ।

    ३५ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्य, ३५० किलोमिटरसम्मको रेन्ज, १६७ किलोवाट डीसी फास्ट चार्जिङ, एडास लेभल–२ र फुल एसयूभीको डिजाइनका कारण नामी भिगो ई–२ नेपाली ईभी बजारमा नयाँ आकर्षण बन्ने देखिन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend