काठमाडौं । नेपालका सीमित सवारीसाधन आयातकर्ता तथा व्यवसायीको पहलमा सन् १९७५ मा स्थापना भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५० वर्षे यात्रालाई स्वर्ण जयन्तीका रूपमा मनाउँदै १८औँ नाडा अटो शो आयोजना गर्ने भएको छ।
नाडाले आफ्नो स्वर्ण जयन्ती वर्षको अवसर पारेर ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म अर्थात् अगस्ट २५ देखि ३० सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गर्न लागेको हो।
नाडाका अनुसार करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। मेलामा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक सवारी ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी (एलसीभी) ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे सवारी ब्रान्डको प्रत्यक्ष सहभागिता रहनेछ।
त्यस्तै, पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, विद्युतीय सवारी चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणलगायतका क्षेत्रमा करिब ७० कम्पनी सहभागी हुनेछन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी गरी थप १० संस्थाको समेत प्रदर्शनीमा सहभागिता रहने नाडाले जनाएको छ।
पाँच दशकमा बदलिएको नेपाली अटोमोबाइल बजार
पाँच दशकअघि सीमित व्यवसायीको साझा पहलबाट सुरु भएको नाडाको यात्रा अहिले नेपालको अटोमोबाइल उद्योगको विकाससँगै जोडिएको छ। यस अवधिमा नेपालमा सवारीसाधनको प्रयोग, बजार विस्तार र अटोमोबाइलसँग सम्बन्धित व्यवसाय तथा पूर्वाधारमा उल्लेख्य विस्तार भएको छ।
हालसम्म नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्। पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात गरेको छ। यसबाट राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको नाडाको तथ्यांक छ।
यसले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधनको कारोबारमा सीमित उद्योग नभई सरकारको राजस्व संकलन, रोजगारी सिर्जना तथा समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउने क्षेत्रका रूपमा स्थापित गरेको छ।
पछिल्ला वर्षमा विद्युतीय सवारीसाधनतर्फ बढ्दो आकर्षणले नेपाली अटोमोबाइल बजारको स्वरूपसमेत परिवर्तन गरिरहेको छ। नेपालमा हाल करिब ६३ हजार विद्युतीय सवारीसाधन (ईभी) भित्रिइसकेका छन् भने ईभीका लागि करिब २ हजार चार्जिङ स्टेसन निर्माण भइसकेका छन्।
‘प्रदर्शनी मात्रै होइन, पाँच दशकको लेखाजोखा’
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले १८औँ संस्करणको नाडा अटो शोलाई एउटा व्यापारिक प्रदर्शनीभन्दा पनि पाँच दशकमा नेपाली अटोमोबाइल उद्योगले हासिल गरेको उपलब्धिको प्रतिबिम्बका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार ५० वर्षको यात्रा कुनै संस्थाको दीर्घकालीन इतिहास मात्र नभई उद्योगले मुलुकको अर्थतन्त्र र समाजमा पुर्याएको योगदान मूल्यांकन गर्ने महत्वपूर्ण अवसरसमेत हो।
“पचास वर्ष भनेको कुनै उद्योगलाई ‘कति बिक्री गर्यो’ भन्ने आधारमा होइन, ‘कति धानिरहेको छ’ भन्ने आधारमा नाप्न थाल्न पर्याप्त समय हो। भदौ ९ गते हामीले खोल्न लागेको प्रदर्शनी त्यही हो,” अध्यक्ष उप्रेतीले भने।
नाडाले पछिल्लो समय अटोमोबाइल क्षेत्रलाई आयात र बिक्रीमा मात्र सीमित नराखी रोजगारी, राजस्व, हरित प्रविधि तथा समग्र आर्थिक गतिविधिको महत्वपूर्ण संवाहकका रूपमा विकास गर्नुपर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।
विद्युतीय सवारी र हरित गतिशीलतामा बढ्दो जोड
नेपालको अटोमोबाइल बजार पछिल्लो समय पेट्रोल तथा डिजेलमा आधारित सवारीसाधनबाट विद्युतीय सवारीतर्फ क्रमशः रूपान्तरण भइरहेको छ। ईभीको बढ्दो संख्या र चार्जिङ पूर्वाधारको विस्तारले नेपालमा हरित गतिशीलताको आधारसमेत विस्तार हुँदै गएको देखिन्छ।
यसै सन्दर्भमा नाडा अटो शोमा विद्युतीय सवारीसाधन, चार्जिङ प्रविधि तथा अटोमोबाइलसँग सम्बन्धित नयाँ प्रविधिलाई समेत विशेष महत्व दिइने अपेक्षा गरिएको छ।
स्वर्ण जयन्तीको अवसरमा आयोजना हुन लागेको १८औँ नाडा अटो शोले नयाँ सवारीसाधन र प्रविधिको प्रदर्शनसँगै नेपालको अटोमोबाइल उद्योगको पाँच दशक लामो विकासक्रमलाई समेत प्रस्तुत गर्नेछ।
नाडाले आगामी दिनमा नेपाली सडक तथा यातायात प्रणालीलाई थप आधुनिक, सुरक्षित, प्रविधिमैत्री र वातावरणमैत्री बनाउन उद्योगको भूमिका अझ विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ। स्वर्ण जयन्ती वर्षमा आयोजना हुने यो प्रदर्शनीलाई त्यसै यात्राको अर्को महत्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको छ।

