२०८३, आश्विन १९ गते

images
  • अटो
  • १८औँ नाडा अटो शोमा गाडीसँगै अटो...

१८औँ नाडा अटो शोमा गाडीसँगै अटो पार्ट्सदेखि वित्तीय सेवासम्मको ‘इकोसिस्टम’ प्रदर्शन

१८औँ नाडा अटो शोमा गाडीसँगै अटो पार्ट्सदेखि वित्तीय सेवासम्मको ‘इकोसिस्टम’ प्रदर्शन

शुक्रवार, भाद्र ५ २०८३०४:४१
शुक्रवार, भाद्र ५ २०८३०४:४१
  • images

    काठमाडौँ । नेपालमा अटोमोबाइल बजार विस्तार हुँदै जाँदा सवारीसाधन बिक्रीसँगै त्यसलाई सञ्चालन, मर्मत तथा व्यवस्थापन गर्ने सम्पूर्ण प्रणाली पनि विकसित हुँदै गएको छ। यही परिवर्तित स्वरूपलाई समेट्दै आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना हुने भएको छ।

    नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को आयोजनामा हुने प्रदर्शनी करिब तीन लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुनेछ। प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन् भने २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ सवारी ब्रान्ड सहभागी हुनेछन्।

    तर यसपटकको अटो शोमा सवारीसाधन मात्र आकर्षणको केन्द्र बन्ने छैनन्। प्रदर्शनीमा अटोमोबाइल उद्योगसँग जोडिएका पार्ट्स, उपकरण, वित्तीय सेवा, बीमा, विद्युतीय सवारीका चार्जिङ प्रणाली तथा अन्य सहायक सेवाहरूलाई समेत विशेष स्थान दिइएको छ।

    गाडी मात्र होइन, गाडी चलाउने सम्पूर्ण उद्योग

    प्रदर्शनीमा सहभागी हुने करिब ७० कम्पनीले सवारीसाधनसँग सम्बन्धित विभिन्न उत्पादन तथा सेवा प्रस्तुत गर्नेछन्। ती कम्पनीहरूले टायर, ब्याट्री, इन्जिन आयल, हेलमेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डायग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, एसेसरिज र ईभी चार्जिङ उपकरणलगायतका सामग्री प्रदर्शन गर्नेछन्।

    त्यस्तै, करिब १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी पनि प्रदर्शनीमा सहभागी हुनेछन्। उनीहरूले सवारीसाधन खरिदका लागि अटो लोन, बीमा तथा विद्युतीय सवारीका लागि लक्षित वित्तीय योजनाहरू प्रस्तुत गर्नेछन्।

    नाडाका अनुसार उपभोक्ताले सवारीसाधन खरिद गर्दा केही समय मात्र सोरुममा बिताए पनि त्यसपछि लामो समयसम्म बैंक, बीमा कम्पनी, वर्कसप, टायर तथा पार्ट्स व्यवसायसँग जोडिनुपर्ने भएकाले अटोमोबाइल क्षेत्रको सम्पूर्ण इकोसिस्टमलाई एउटै थलोमा प्रस्तुत गर्न खोजिएको हो।

    एउटै छानामुनि सवारी, पार्ट्स र वित्तीय सेवा

    १८औँ नाडा अटो शोमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिएको छ।

    यसले उपभोक्तालाई नयाँ सवारीसाधन हेर्नुका साथै त्यसको मर्मतसम्भार, आवश्यक पार्ट्स, वित्तीय व्यवस्था र बीमासम्बन्धी जानकारीसमेत एउटै भ्रमणमा लिन सहज हुने आयोजकको अपेक्षा छ।

    नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार अटो शोको अर्थ नयाँ गाडी प्रदर्शन गर्नु मात्र नभई त्यसलाई वर्षौंसम्म सञ्चालनमा सहयोग गर्ने सम्पूर्ण उद्योगलाई समेत देखाउनु हो।

    “अटो शो भन्नेबित्तिकै गाडीले भरिएको हल भन्ने लाग्छ। तर हाम्रो प्रदर्शनीको ठूलो हिस्सा त ती गाडी वर्षौंसम्म चलाइराख्ने उद्योगले ओगटेको छ। त्यो उद्योग पनि देखिनुपर्छ।”

    युरोपदेखि चीनसम्मका ब्रान्डको सहभागिता

    यस वर्षको अटो शोमा विभिन्न देशका सवारी ब्रान्डको उल्लेखनीय सहभागिता रहनेछ।

    युरोपेली इन्जिनियरिङको प्रतिनिधित्व गर्दै स्कोडा, मलेसियाको राष्ट्रिय ब्रान्ड प्रोटोन, चीनका चेरी अन्तर्गतका ओमोडा र जेकु तथा जीडब्ल्यूएमलगायतका ब्रान्ड सहभागी हुनेछन्।

    जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली तथा चिनियाँ मूलका सवारी ब्रान्डहरू एउटै प्रदर्शनी स्थलमा रहने भएकाले नेपाली उपभोक्ताले विभिन्न प्रविधि र ब्रान्डको प्रत्यक्ष तुलना गर्न सक्नेछन्।

    ‘इन्टरनेसनल’ र ‘मेड इन नेपाल’ प्याभिलियन

    विदेशी सहभागीका लागि छुट्टै ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ स्थापना गरिनेछ। त्यस्तै, नेपाली उत्पादन तथा स्वदेशमै हुने एसेम्बलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन समेत राखिने आयोजकले जनाएको छ।

    यसले नेपालमा अटोमोबाइल क्षेत्रमा बढ्दै गएको स्वदेशी उत्पादन, एसेम्बली तथा स्थानीय मूल्य शृंखलालाई समेत प्रदर्शनीमा स्थान दिनेछ।

    आधा शताब्दीमा अटोमोबाइल उद्योगको ठूलो विस्तार

    नाडाका अनुसार करिब पाँच दशकअघि नेपालमा अटोमोबाइल उद्योगसम्बन्धी प्रदर्शनी एउटा कोठाभित्रै सीमित हुने अवस्था थियो। अहिले भने त्यही क्षेत्रलाई करिब तीन लाख वर्गफिट क्षेत्रफल आवश्यक पर्ने गरी विस्तार भएको छ।

    यो विस्तार सवारीसाधनको संख्या बढेको कारण मात्र नभई त्यससँग जोडिएको अटो पार्ट्स, वित्तीय सेवा, बीमा, मर्मतसम्भार, प्रविधि, चार्जिङ पूर्वाधार तथा अन्य सहायक व्यवसायको विस्तारका कारण भएको नाडाको भनाइ छ।

    ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुनेछ। प्रदर्शनीले नेपाली अटोमोबाइल बजारमा नयाँ सवारीसाधनसँगै त्यसलाई दीर्घकालसम्म सञ्चालन गर्न आवश्यक सम्पूर्ण सेवा र पूर्वाधारलाई एउटै प्लेटफर्ममा जोड्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend