काठमाडौं । एमएडब्लू वृद्धि नेपालले चिनियाँ अटोमोबाइल निर्माता चांगानको प्रिमियम सब-ब्रान्ड नेभोको नयाँ विद्युतीय एसयूभी दीपल नेभो क्यू०५ नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीले आइतबार आयोजित एक कार्यक्रमबीच उक्त विद्युतीय एसयूभी सार्वजनिक गरेको हो। नेभो क्यू०५ ले नेपाली बजारमा प्रविधि, आराम र विलासिताको नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार बिक्रीसँगै बिक्रीपछिको सेवालाई प्राथमिकतामा राखिएको छ। ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै एमएडब्लू नेपालले ७ करोड रुपैयाँभन्दा बढीको स्पेयर पार्ट्स मौज्दात राखेको जनाएको छ। त्यस्तै, ग्राहकका लागि २४ घण्टा सञ्चालन हुने हेल्पलाइनको समेत व्यवस्था गरिएको छ।
दुई भेरियन्टमा उपलब्ध
नेभो क्यू०५ नेपालमा म्याक्स र अल्ट्रा गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। नाडा अटो शो अवधिसम्म म्याक्सको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्राको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
अटो शोपछि भने म्याक्सको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ र अल्ट्राको ५१ लाख ९९ हजार रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।
४६२ किलोमिटरसम्म रेन्ज
प्राविधिक रूपमा नेभो क्यू०५ मा १२० किलोवाटको विद्युतीय मोटर र ५२ किलोवाट आवरको गोल्डेन शिल्ड २.० ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ४६२ किलोमिटरसम्मको रेन्ज दिन्छ।
इटालीको ‘ए–डिजाइन अवार्ड’मा गोल्ड मेडल जितेको ‘क्लाउड्स एण्ड सोफिया’ कन्सेप्टमा आधारित यो एसयूभीको लम्बाइ ४.५४ मिटर र ह्विलबेस २.७३ मिटर रहेको छ।
विलासी क्याबिन र स्मार्ट फिचर
नेभो क्यू०५ को क्याबिनको करिब ८० प्रतिशत भागमा सफ्ट–टच सामग्री प्रयोग गरिएको कम्पनीले जनाएको छ। यसमा ९ तहको कुशन सिट तथा ६७ स्थानमा साउन्ड इन्सुलेशन प्रविधि प्रयोग गरिएको छ।
सुरक्षातर्फ गाडीमा १८ वटा स्मार्ट ड्राइभिङ सिस्टम, ट्रान्सप्यारेन्ट च्यासिस, स्वचालित इमर्जेन्सी ब्रेक र स्टेयरिङ कन्ट्रोललगायतका सुविधा उपलब्ध छन्।
त्यस्तै, मोबाइल एपमार्फत गाडीको चार्जिङ, लोकेसन र तापक्रम नियन्त्रण गर्न सकिने सुविधा पनि दिइएको छ।
ग्राहकलाई आकर्षित गर्न कम्पनीले गाडीमा ५ वर्षको सवारीसाधन वारेन्टी उपलब्ध गराएको छ। त्यस्तै, ब्याट्री र ड्राइभट्रेनमा ११ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी दिइएको कम्पनीको दाबी छ।

