काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि ‘१८औँ नाडा अटो शो २०२६’ सुरु हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा हुने प्रदर्शनीमा २१५ भन्दा बढी स्टल राखिएका छन्।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यस वर्ष अटो शोका स्टलहरू विगतको तुलनामा थप फराकिलो र व्यवस्थित बनाइएको छ। प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाउनुका साथै पर्याप्त प्रकाश, एसी तथा पंखाको व्यवस्था गरिएको छ।
अटो शोमा चारपांग्रे तथा दुईपांग्रे सवारीसाधन, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल–मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्र छुट्याइएको छ।
नाडाका अनुसार प्रदर्शनीमा ५३ वटा सवारी ब्रान्ड, ७० वटा पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्था सहभागी छन्। एउटै स्थानबाट सवारीसाधनसँगै वित्तीय सुविधा, बीमा, सर्भिस र पार्ट्सबारे जानकारी लिन सकिने गरी प्रदर्शनी क्षेत्र व्यवस्थापन गरिएको छ।
नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकले विभिन्न ब्रान्डका सवारीसाधनको मूल्य, वित्तीय सुविधा, बीमा, सर्भिस तथा पार्ट्ससम्बन्धी जानकारी एकै ठाउँमा तुलना गर्न सक्ने नाडाले जनाएको छ।
अवलोकनकर्ताका लागि अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको छ। खल्ती एप तथा आधिकारिक क्यूआर कोडमार्फत टिकट काट्न सकिनेछ। सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ।
मंगलबार बिहान साढे १० बजेदेखि सुरु हुने अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने कार्यक्रम छ।
अवलोकनकर्ताका सवारीसाधन पार्किङका लागि नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनस्थित भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा व्यवस्था गरिएको छ।
प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया तथा आकस्मिक स्वास्थ्य सेवासमेत उपलब्ध हुने नाडाले जनाएको छ।

