काठमाडौं । यामाहाको लोकप्रिय नियो–क्लासिक रेट्रो क्रुजर मोटरसाइकल एक्सएसआर १५५ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक भएको छ। नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले नाडा अटो शो २०२६ मार्फत एक्सएसआर १५५ को बिक्री सुरु गरेको हो।
कम्पनीका अनुसार एक्सएसआर १५५ नेपाली बजारमा रेड, ब्ल्याक र ग्रे गरी तीन कलर भेरियन्टमा उपलब्ध हुनेछ। मूल्यतर्फ रेड भेरियन्टको ५ लाख ३९ हजार ९०० रुपैयाँ, ब्ल्याकको ५ लाख ४४ हजार ९०० रुपैयाँ र ग्रे भेरियन्टको ५ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ।
आर१५ र एमटी–१५ कै इन्जिन प्लेटफर्म
एक्सएसआर १५५ को डिजाइन विश्वव्यापी रूपमा बिक्री हुँदै आएको एक्सएसआर सिरिजबाट प्रेरित छ। मोटरसाइकलमा क्लासिक रेट्रो डिजाइनसँगै आधुनिक फिचर समावेश गरिएको छ।
यामाहा आर१५ तथा एमटी–१५ मा प्रयोग हुँदै आएको इन्जिन प्लेटफर्ममा आधारित एक्सएसआर १५५ मा पनि सोही क्षमताको इन्जिन प्रयोग गरिएको छ। रेट्रो डिजाइन रुचाउने ग्राहकलाई लक्षित गर्दै कम्पनीले यो मोटरसाइकल नेपाली बजारमा ल्याएको जनाएको छ।
मोटरसाइकलमा डेल्टा बक्स फ्रेम, गोलाकार एलईडी हेडलाइट, टियरड्रप आकारको फ्युल ट्यांक र फ्ल्याट सिंगल–पिस सिट दिइएको छ। यसको तौल १३७ किलोग्राम, ग्राउन्ड क्लियरेन्स १२० मिलिमिटर र फ्युल ट्यांक क्षमता १० लिटर रहेको छ।
१५५ सीसी इन्जिन, ६ स्पीड गियरबक्स
एक्सएसआर १५५ मा १५५ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ, एसओएचसी, एफआई र भीभीए प्रविधियुक्त इन्जिन रहेको छ।
उक्त इन्जिनले अधिकतम १८.४ पीएस पावर तथा १४.२ एनएम टर्क उत्पादन गर्छ। यसमा ६ स्पीड गियरबक्सका साथै असिस्ट र स्लिपर क्लच उपलब्ध छ।
सस्पेन्सनतर्फ अगाडि टेलिस्कोपिक यूएसडी फोर्क र पछाडि स्विङआर्म लिंक मोनोसक सेटअप दिइएको छ।
ब्रेकिङका लागि अगाडि र पछाडि डिस्क ब्रेक तथा डबल च्यानल एबीएस उपलब्ध छ। त्यस्तै, मोटरसाइकलमा ट्युबलेस टायर र कलर–म्याचिङ अलोय ह्वील प्रयोग गरिएको छ।
स्मार्ट कनेक्टिभिटीसहितका फिचर
एक्सएसआर १५५ मा वाई–कनेक्ट स्मार्टफोन कनेक्टिभिटीसहितको पूर्ण डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ। यसले कल तथा एसएमएस अलर्टलगायतका सुविधा प्रदान गर्छ।
त्यस्तै, मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल, पूर्ण एलईडी लाइटिङ, डीआरएल र इलेक्ट्रिक स्टार्टर जस्ता आधुनिक फिचर उपलब्ध छन्।
रेट्रो डिजाइन, स्पोर्टी इन्जिन र आधुनिक प्रविधिको संयोजनसहित आएको एक्सएसआर १५५ ले नेपाली बजारमा नियो–क्लासिक मोटरसाइकल सेग्मेन्टमा प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ।

