काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसद सहभागी थिए। छलफलमा बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा जारी उद्धार र राहत कार्यबारे जानकारी लिइएको थियो।
भेटमा सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा बाढीले पुर्याएको क्षति, स्थानीय अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि तत्काल चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराएका थिए।
त्यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार र राहत वितरणको प्रगतिबारे उच्चस्तरीय जानकारी लिएका थिए।
सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले सरकार बाढी प्रभावित नागरिकको सुरक्षा, उद्धार र राहतमा पूर्ण प्रतिबद्धताका साथ परिचालित रहेको बताए। उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा जोखिममा रहेका र विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए।
सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ। साथै, सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रका बस्तीमा उच्च सतर्कता अपनाइएको छ।

