काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राहत सामग्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’लाई हस्तान्तरण गर्नुभएको हो ।
यसअघि भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले सामाजिक सञ्जालमार्फत रसुवा बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत तथा आवश्यक औषधिसहितको सामग्री नेपाल पठाइएको जानकारी दिएका थिए ।
विदेशमन्त्री जयशङ्करले बाढीबाट प्रभावित नागरिक तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताए ।
यसैबीच, नेपाली सेनाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा करिब आठ टन राहत सामग्री पठाएको छ । सेनाका आठ वटा ट्रकमार्फत बुधबार राति नै सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।
प्रभावित क्षेत्रमा पठाइएका राहत सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट र ३० केभिए क्षमताको एक थान जेनेरेटरलगायत छन् ।
बाढी प्रभावित नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले आवश्यक सामग्री नेपाली सेनाका ट्रकमार्फत राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो । गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निगरानीमा सामग्री व्यवस्थापन तथा ढुवानी गरिएको जनाइएको छ ।
भोटेकोशी बाढीका कारण जनजीवन प्रभावित भइरहेका बेला सरकारले उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको जनाएको छ ।

