काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को समन्वयमा परिसंघका सदस्य संस्था तथा उद्योगी व्यवसायीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको टोलीले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमका चेक हस्तान्तरण गरेको हो । सहयोगमा परिसंघका सदस्य संस्था तथा व्यक्तिगततर्फबाट गरिएको योगदान समेटिएको परिसंघले जनाएको छ ।
शुक्रबार अर्थमन्त्री वाग्लेलाई एमएडब्ल्यू ग्रुपका तर्फबाट परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले १ करोड ११ लाख रुपैयाँ, परिसंघ गभर्निङ काउन्सिल सदस्य तथा उद्योगी विजयकुमार शाहले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।
त्यस्तै, जावलाखेल डिस्टिलरीले १ करोड, हिमालयन डिस्टिलरीले १ करोड र हिमालयन बुलियन कम्पनीले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
यसअघि परिसंघको समन्वयमा गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ राहत कोषमा सहयोग गरिसकेको जनाएको छ ।
यस्तै, चौधरी ग्रुप र नबिल बैंकबाट पनि १५ करोड रुपैयाँभन्दा बढीको सहयोग प्रदान भएको परिसंघले जनाएको छ । नेपाल आदर्श निर्माण कम्पनीले भने १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
सानो तथा मध्यम आकारका संस्थाहरूले समेत उद्धार कोषमा योगदान गरेका छन् । गुड होम प्रडक्ट्सले २ लाख २१ हजार, ब्रिटिश कलर इन्डस्ट्रिजले २ लाख १० हजार, लाङटाङ री ट्रेकिङले १ लाख १२ हजार, कास ट्रेडिङले १ लाख ११ हजार १११, सिल्भर लाइनिङले १ लाख ११ हजार १११ र ग्लोकल प्रालिले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा परिसंघका पूर्वअध्यक्ष शतिसकुमार मोर, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, उपाध्यक्ष राजबहादुर शाह, राष्ट्रिय परिषद्का सदस्य, सहयोग गर्ने संस्थाका प्रतिनिधि तथा परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति थियो ।
परिसंघले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि थप सहयोग गर्न आफ्ना सदस्य संस्था, उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । संकटको समयमा निजी क्षेत्रको कार्य र सामाजिक उत्तरदायित्वलाई प्रभावकारी रूपमा परिचालन गर्न परिसंघले निरन्तर समन्वय गर्ने जनाएको छ ।

