२०८३, आश्विन १९ गते

images
  • अटो
  • रसुवा बाढी प्रभावितका लागि नाइमाले ५०...

रसुवा बाढी प्रभावितका लागि नाइमाले ५० लाख रुपैयाँ सहयोग गर्ने

रसुवा बाढी प्रभावितका लागि नाइमाले ५० लाख रुपैयाँ सहयोग गर्ने

सीएनएन खबर
आइतवार, भाद्र १४ २०८३०४:२८
सीएनएन खबर
आइतवार, भाद्र १४ २०८३०४:२८
  • images

    काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

    NAIMA ले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संघले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    विपद्को सुरुवातदेखि नै नाइमाका सदस्य कम्पनीहरूले उद्धार तथा राहत कार्यमा विभिन्न माध्यमबाट सहयोग गर्दै आएको संघले जनाएको छ। सदस्य कम्पनीहरूले आर्थिक सहयोगसँगै यातायात, लजिस्टिकलगायत आवश्यक सहयोग उपलब्ध गराउँदै आएका छन्।

    नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले संघले आफ्नो स्थापनाकालदेखि नै विपद् तथा आपतकालीन अवस्थामा सरकार र प्रभावित समुदायलाई सहयोग गर्दै आएको बताइन्।

    उनले विपद्को कठिन अवस्थामा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको समेत साझा दायित्व भएको बताउँदै सदस्य कम्पनीहरूले देखाएको सहयोग र सहकार्यप्रति धन्यवाद व्यक्त गरिन्।

    “यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो। यस विपद्मा सहयोग र सहकार्यका लागि तत्परता देखाउनु भएका हाम्रा सम्पूर्ण सदस्य कम्पनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सक्छ,” वैद्यले भनिन्।

    संघले खोज, उद्धार तथा राहत कार्यमा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा विभिन्न संघ–संस्थाप्रति सम्मान व्यक्त गरेको छ।

    नाइमाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार बाढी प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्नसमेत आग्रह गरेको छ।

    भोटेकोशी नदीमा आएको बाढीबाट रसुवामा ठूलो जनधनको क्षति भएको छ। विपद्पछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम जारी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend