काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एसटीसी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ ।
ग्रुपले उक्त सहयोग रकम आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । बाढीबाट प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको एसटीसी ग्रुपले जनाएको छ ।
एसटीसी ग्रुपका अनुसार ग्रुपको आधिकारिक वितरकका रूपमा काम गर्दै आएको भारतीय कम्पनी भेरोक इन्टरनेशनलले समेत बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । दुवै पक्षको सहयोग समेटेर एकमुष्ट ५० लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो ।
भोटेकोसी क्षेत्रमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याउनुका साथै स्थानीय अर्थतन्त्रसमेत प्रभावित भएकाले विपद्को समयमा निजी क्षेत्रले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता महसुस गरी सहयोग गर्ने निर्णय गरिएको ग्रुपले जनाएको छ ।
एसटीसी नेपालका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले विपद्का बेला प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए । “भोटेकोसी क्षेत्रमा आएको बाढीले धेरै परिवारको जनजीवन प्रभावित बनाएको छ । यस्तो कठिन परिस्थितिमा सरकारको राहत तथा उद्धार प्रयासमा निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने विश्वासका साथ हामीले सहयोग गर्ने निर्णय गरेका हौँ,” उप्रेतीले भने, “हाम्रो सानो सहयोगले प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने विश्वास लिएका छौँ ।”
एसटीसी ग्रुप नेपालमा अटोमोबाइल कम्पोनेन्ट, लुब्रिकेन्ट तथा टायरलगायतका उत्पादनको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको व्यावसायिक समूह हो । अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय ग्रुपले नेपालमै ब्याट्री उत्पादनको क्षेत्रमा समेत काम गर्दै आएको छ ।
ग्रुपले विपद्को यस घडीमा सरकार, निजी क्षेत्र र आम नागरिकबीचको सहकार्यबाट भोटेकोसी बाढी प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनःस्थापनामा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

