काठमाडौँ । रसुवा बाढीपछि त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका दुई जनाको उद्धार भएको छ । उनीहरूको १० दिनपछि शुक्रबार बिहान उद्धार गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपानेले जलविद्युत् आयोजनामा फसेका सञ्जय साह र कबीर महर्जनको उद्धार भएको जानकारी दिए ।
साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा सो आयोजनामा कार्यरत थिए ।
१० भदौमा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि उनीहरू टनेलमा थुनिएका थिए । निरन्तरको प्रयासपछि उद्धार टोलीले उनीहरूलाई शुक्रबार बिहान उद्धार गरेको हो ।
उनीहरूको उद्धारपछि उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ । दुई जनाको जीवितै उद्धारपछि उद्धार टोली उक्त टनेलमा उद्धार कार्यलाई तीव्र बनाएको छ ।

