काठमाडौँ । अपिहिमाल गाउँपालिका–९ भटारस्थित चाैलानी नदीमा पहिरो खसेर नदीको केही भाग थुनिएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै नदीमा माथिबाट आएको पहिरोका कारण चाैलानी नदी आधा अवरुद्ध भएको र थप पहिरो आउने क्रम जारी रहेकाले नदी पूर्णरूपमा थुनिन सक्ने सम्भावना रहेको जनाएको हो।
नदी पूर्णरूपमा थुनिएमा अचानक पानीको बहाव बढेर तटीय क्षेत्रमा जोखिम निम्तिन सक्ने भन्दै प्रशासनले नदी किनारमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले सम्भावित जोखिमबाट बच्न नदी किनारमा अनावश्यक आवतजावत नगर्न, कमजोर संरचनामा नबस्न तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्नसमेत अनुरोध गरेको छ। आपत्कालीन अवस्था आएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि प्रशासनले आग्रह गरेको छ।
बाढी तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५, विपद्मा महत्त्वपूर्ण सूचना आदानप्रदानका लागि १२२४ (DEOC), नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल, नेपाल १११४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

