२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भोटेकोशी बाढीपछि चितवनमा भेटिएका ३६२ शव,...

भोटेकोशी बाढीपछि चितवनमा भेटिएका ३६२ शव, ६८ आफन्तको डिएनए नमूना सङ्कलन

भोटेकोशी बाढीपछि चितवनमा भेटिएका ३६२ शव, ६८ आफन्तको डिएनए नमूना सङ्कलन

आइतवार, भाद्र २१ २०८३१०:०८
आइतवार, भाद्र २१ २०८३१०:०८
  • images

    काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमूना सङ्कलन र पहिचान गर्ने काम भइरहेको छ ।
     
    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन् । तीमध्ये ३३३ शवको व्यवस्थापन गरिसकिएको छ भने १४ वटा शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ ।

    शवहरूको वैज्ञानिक पहिचानका लागि यही भदौ १६ गतेदेखि डिएनए नमूना सङ्कलन सुरु गरिएको थियो । यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका आफन्त ६८ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ ।

    उनका अनुसार भदौ १६ गते सात पुरुषको नमूना सङ्कलन गरिएको थियो । भदौ १७ गते २६ जनाको नमूना सङ्कलन गरिएकोमा दुई महिला, २२ पुरुष र दुई  पुरुष भारतीय नागरिक रहेका छन् । भदौ १८ गते २२ जनाको नमूना सङ्कलन गरिएकामा चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक छन् । 

    यस्तै, भदौ १९ गते सात जनाको नमूना सङ्कलन गरिएकामा एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष नागरिक रहेका छन् । भदौ २० गते छ जनाको नमूना सङ्कलन गरिएकामा दुई महिला, एक पुरुष र तीन बालक रहेका छन् ।
     
    प्रहरी नायब उपरीक्षक यादवका अनुसार हाल पनि खोजी, शवहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण सङ्कलन र अन्य समन्वयात्मक प्रक्रिया निरन्तर छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend