काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गबाट काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति निरन्तर राखेको छ।
निगमले तराईका विभिन्न ग्यास उद्योगमा रिफिल गरिएका सिलिन्डरहरू त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाएको जनाएको छ। निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीलगायत जिल्लामा रहेका ग्यास उद्योगबाट रिफिल गरिएका सिलिन्डर वैकल्पिक मार्ग प्रयोग गरी उपत्यकामा ल्याइँदै छन्।
निगमले उपलब्ध गराएको विवरणअनुसार भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार ७३४ र भदौ २० गते २९ हजार २९४ गरी तीन दिनमा कुल ८८ हजार ५२२ वटा ग्यास सिलिन्डर काठमाडौं ल्याइएको छ।
पृथ्वी राजमार्गको कृष्णभीर खण्ड नियमित सञ्चालनमा नआएसम्म वैकल्पिक मार्गबाटै एलपी ग्यासका सिलिन्डर ल्याई बिक्री–वितरण गर्ने व्यवस्था निरन्तर राख्न निगमले सम्बन्धित उद्योगहरूलाई आग्रह गरेको छ।
यसका साथै, आपूर्ति व्यवस्थामा कुनै कमी हुन नदिन सार्वजनिक बिदाका दिनमा समेत ग्यास उद्योगमा रिफिलिङ तथा ढुवानीको काम सुचारु राख्न निगमले आग्रह गरेको छ।
निगमले कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा एलपी ग्यासको नियमित आपूर्ति कायम राख्न वैकल्पिक मार्गको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ।

