काठमाडौँ । गोर्खाको चुमनुब्री गाउँपालिकामा बाढीका कारण महत्वपूर्ण दुईवटा पुल बगाएपछि जिल्ला प्रशासन कार्यालय गोर्खाले पदयात्रामा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय गोर्खाले आइतबार जारी गरेको ‘पदयात्रा नगर्नेरनगराउने सम्बन्धी अत्यन्त जरुरी सूचना’ मार्फत चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित धेराङखोलामा आएको बाढीले वडा नं। ४ र वडा नं। २ जोड्ने फलामे पुल तथा नामरुङ जंगलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुलसमेत बगाएको जनाएको छ।
पुलहरू बगाएपछि उक्त क्षेत्रको पदमार्गमा आवतजावत जोखिमपूर्ण बनेको प्रशासनको भनाइ छ। प्रशासनले मनास्लु पदमार्ग तथा लार्केपास पदमार्गको यात्राको तयारीमा रहेका वा यात्रामा रहेका पदयात्रीलाई अर्को सूचना प्रकाशित नभएसम्म पदयात्रा नगर्न तथा नगराउन आग्रह गरेको छ।
प्रशासनले सम्भावित विपद् तथा असामान्य अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा इकाइ वा प्रहरी चौकीमा सम्पर्क गरी आवश्यक जानकारी लिनसमेत अनुरोध गरेको छ।
आपत्कालीन सम्पर्क
जिल्ला प्रशासन कार्यालयले सुरक्षा तथा उद्धारका लागि सम्बन्धित निकायका सम्पर्क नम्बर सार्वजनिक गरेको छ। साथै, स्थानीय बासिन्दा, पदयात्री तथा सम्बन्धित सबैलाई मौसम र सडकरपुलको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय गोर्खाका अनुसार पुलहरू बगाएपछि मनास्लु तथा लार्केपास क्षेत्रमा जाने पदयात्रा तत्कालका लागि जोखिमपूर्ण रहेकाले अर्को सूचना नआएसम्म यात्रा रोक्नुपर्ने अवस्था आएको हो।

