२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि ७ खर्ब...

भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

बिहिवार, भाद्र २५ २०८३०५:०७
बिहिवार, भाद्र २५ २०८३०५:०७
  • images

    काठमाडौँ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात्को पुनर्निर्माणका लागि सरकारले सात खर्ब २३ अर्ब ३१ करोड ५२ लाख आवश्यक पर्ने अनुमान गरेको छ ।

    राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन ९आरडिएनए० प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनःरुत्थानका लागि मात्रै चार खर्ब ७३ अर्ब ५७ करोड १९ लाख लाग्ने अनुमान गरिएको छ । यो कूल विपद् पुनःरुत्थान आवश्यकताको ७५ प्रतिशत हिस्सा हो ।

    पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सडकमा व्यापक क्षति पुगेको छ । जहाँ ७५९ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना र २४ मेगावाटका पाँच वटा सोलार प्लान्ट प्रभावित भएका छन् । यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै र तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार आवश्यक पर्ने देखिएको छ ।

    यसैगरी ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको छ  । तेत्तीस वटा मोटरेबल पुल बगेका छन् भने चार वटामा आंशिक क्षति पुगेको छ  । यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ । प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनःरुत्थानका लागि ७३ अर्ब ३४ करोड २९ लाख ६० हजार खर्च लाग्ने देखिन्छ ।

    बाढीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी सत हजार ५७० वटा निजी घरहरू क्षतिग्रस्त भएका छन् । यसबाहेक ४८ वटा सार्वजनिक भवन, १८ वटा विद्यालय, सात वटा स्वास्थ्य संस्था र ३० वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । यो क्षेत्रका लागि एक खर्ब तीन अर्ब ५४ करोड ९९ लाख बजेट आवश्यक छ ।

    यसैगरी, व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुनःरुत्थानका लागि ५० अर्ब ७७ करोड ४९ लाख लाग्ने आकलन गरिएको छ । उत्पादन क्षेत्रअन्तर्गत एक हजार ८०६ हेक्टर कृषि बाली, १७ वटा बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठानहरू प्रभावित भएका छन् ।

    पाँच जिल्लाका प्रभावित १५ स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै तीन हजार २६ घरमा क्षति पुगेको छ ।
     
    विपद् जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि ९४ अर्ब ७५ करोड ३१ लाख र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि ५१ करोड ५४ लाख आवश्यक पर्ने प्रतिवेदनले औँल्याएको छ ।
     
    प्रतिवेदनले पुनर्निर्माणलाई दुई चरणमा विभाजन गरेको छ । जसअनुसार, आगामी छ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि आठ अर्ब ७३ करोड ५० लाख र दीर्घकालीन पुनर्निर्माणका लागि  सात खर्ब १४ अर्ब ५८ करोड दुई लाख खर्च हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend