२०८३, आश्विन १९ गते

images
  • उर्जा
  • काठमाडौंमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’...

काठमाडौंमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ हुँदै, १०० भन्दा बढी स्टल रहने

काठमाडौंमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ हुँदै, १०० भन्दा बढी स्टल रहने

बिहिवार, आश्विन १ २०८३०३:२४
बिहिवार, आश्विन १ २०८३०३:२४
  • images

    काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रको विकास, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा आगामी माघ ३ देखि ५ गतेसम्म (जनवरी १७–१९, २०२७) काठमाडौंमा एक्स्पो आयोजना गर्न लागिएको हो। ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल (Resilient Energy, Prosperous Nepal)’ भन्ने नारासहित आयोजना हुने एक्स्पोको यो पाँचौँ संस्करण हो।

    आयोजकका अनुसार एक्स्पोमा नेपालको जलविद्युत्सहित सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिलगायतका क्षेत्रलाई समेटिनेछ।

    नेपालको विद्युत् उत्पादन क्षमता करिब ४ हजार ३०० मेगावाट पुगेको र आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अघि सारिएको अवस्थामा एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

    राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका आयोजनामध्ये निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको आयोजकको भनाइ छ। हाल करिब ६ हजार ४०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् भने १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना अध्ययन सम्पन्न गरी विद्युत् खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिएर निर्माणको तयारीमा रहेका छन्।

    आयोजकका अनुसार ३० हजार मेगावाटको लक्ष्य हासिल गर्न विद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधार, विद्युत् खपत वृद्धि, औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, ऊर्जा भण्डारण र भारत तथा बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तारमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ। यही विषयमा आवश्यक लगानी, प्रविधि, बजार, नीति र साझेदारी निर्माणका लागि एक्स्पोलाई साझा मञ्चका रूपमा विकास गर्न लागिएको हो।

    जलवायु उत्थानशील पूर्वाधारमा पनि बहस

    ऊर्जा क्षेत्रमा भइरहेको विस्तारसँगै जलवायु परिवर्तन र त्यसबाट उत्पन्न विपद्को जोखिमलाई समेत एक्स्पोले प्राथमिकतामा राख्ने आयोजकले जनाएको छ।

    बाढी, पहिरो तथा गेग्रान बहावका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा क्षति पुग्दै आएको अवस्थामा सुरक्षित, दिगो तथा विपद्–उत्थानशील ऊर्जा पूर्वाधार निर्माणबारे एक्स्पोमा छलफल गरिनेछ।

    इलाम, संखुवासभा, लमजुङलगायतका क्षेत्रमा भएका बाढी तथा पहिरो र पछिल्लो समय भोटेकोशी तथा त्रिशूली नदी बेसिनमा आएको विपद्लाई समेत आधार बनाएर जलवायुजन्य जोखिम न्यूनीकरण, नयाँ प्रविधि, लगानी तथा नवप्रवर्तनका विषयमा अनुभव आदानप्रदान गरिने आयोजकले जनाएको छ।

    बीटुबी मिटिङदेखि ग्रीन इनर्जी कन्फरेन्ससम्म

    एक्स्पोका क्रममा बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन र स्टार्टअप हब सञ्चालन गरिनेछ।

    यस्तै, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, ईभी ¥याली तथा गाला नेटवर्किङ डिनरसमेत आयोजना गरिनेछ।

    एक्स्पोमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उत्पादन तथा प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ।

    विद्यार्थी तथा नवप्रवर्तकले विकास गरेका ऊर्जा क्षेत्रसँग सम्बन्धित नयाँ अवधारणा, वस्तु तथा सेवाको प्रतिस्पर्धालाई समेत एक्स्पोमा समावेश गरिनेछ।

    भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिललगायतका मुलुकका कम्पनी तथा सरोकारवालालाई सहभागी गराउने तयारी गरिएको छ।

    आयोजकका अनुसार एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन् भने तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।

    इप्पानले एक्स्पोलाई ऊर्जा उत्पादनदेखि लगानी, वित्त, प्रविधि, निर्माण, उपकरण, सेवा, अनुसन्धान तथा नीतिगत बहससम्म ऊर्जा क्षेत्रको सम्पूर्ण मूल्य शृंखलालाई एउटै मञ्चमा जोड्ने वार्षिक कार्यक्रमका रूपमा अघि बढाउने जनाएको छ।

    एक्स्पोमा सहभागिता तथा स्टल बुकिङ खुला गरिएको आयोजकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend