काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारलाई तत्काल राहत उपलब्ध गराउने भएको छ।
बाढीका कारण रसुवामा सञ्चालित १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा कार्यरत कर्मचारी तथा कामदारमध्ये प्राधिकरणअन्तर्गतका मात्रै ४७ जना बेपत्ता रहेको जनाइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता कर्मचारी तथा कामदारका आश्रित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो।
प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार बेपत्ता भएकाको खोजी कार्य, आफ्नो कुल धर्मअनुसार सामाजिक संस्कार तथा परिवारको जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले राहत प्याकेज घोषणा गरिएको हो।
निर्णयअनुसार बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारका नजिकका हकवालालाई तत्काल प्रतिव्यक्ति ५० हजार रुपैयाँ राहत उपलब्ध गराइनेछ।
त्यस्तै, बेपत्ता भएका स्थायी कर्मचारीका नजिकका हकवालालाई थप निर्वाह रकमसमेत उपलब्ध गराउने निर्णय भएको छ। प्राधिकरणबाट क्षतिपूर्ति वा अन्य रकम उपलब्ध गराउने सम्बन्धमा अर्को निर्णय नभएसम्म वा बढीमा ६ महिनासम्म, बेपत्ता कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम मासिक रूपमा निर्वाहका लागि उपलब्ध गराइनेछ।
प्राधिकरण सञ्चालक समितिको बैठकमा मन्त्री श्रेष्ठले बेपत्ता कर्मचारी तथा कामदारका परिवारको जिम्मेवारी सरकारले लिने बताएका थिए।
उनले ठूलो दुःखको क्षतिपूर्ति पैसाले गर्न नसकिने भए पनि तत्कालको अवस्थामा राहतले परिवारलाई केही सहयोग पुग्ने बताए। “हामी एउटै परिवार हो। यो पैसाले यत्रो ठूलो दुःखको घाउ त निको पार्दैन, तर मल्हम लाउने काम गरोस्,” मन्त्री श्रेष्ठले भने।

