काठमाडौँ । सिप्रदी यात्रीले नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिने नयाँ विद्युतीय स्कुटर ‘यात्री पी२’ को मूल्य सार्वजनिक गरेको छ। कम्पनीले पी२ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरेको हो।
नेपालको सडक तथा भौगोलिक अवस्थालाई लक्षित गरी विकास गरिएको स्कुटरमा ग्राहकले आवश्यकता अनुसार ब्याट्री क्षमता, रङ, आराम तथा कनेक्टिभिटीका विकल्प छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।
पी२ मा मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ, जसले पाङ्ग्रामा ३१५ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ। स्कुटरमा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन, १४ इन्चका पाङ्ग्रा, डुअल डिस्क ब्रेक र कम्बाइन्ड ब्रेकिङ सिस्टम उपलब्ध छन्।
कम्पनीले पी२ मा तीन ब्याट्री विकल्प दिएको छ। ३.० किलोवाट आवरको ब्याट्रीले सहरी अवस्थामा ९० किलोमिटरसम्म, ३.७ किलोवाट आवरले ११२ किलोमिटरसम्म र ५.२ किलोवाट आवरले १५७ किलोमिटरसम्म रेन्ज दिने जनाइएको छ। एक्स्टेन्डर प्याकबाट थप ५० किलोमिटरसम्म रेन्ज बढाउन सकिनेछ। ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ।
स्कुटरमा अनबोर्ड चार्जर राखिएको छ। ब्याट्रीअनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिने तथा डीसी फास्ट चार्जिङबाट तोकिएको अवस्थामा करिब ४१ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
पी२ मा ७ इन्चको डिस्प्ले, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, नेभिगेसन, मोबाइल एपमार्फत प्रत्यक्ष सवारी ट्र्याकिङ, चार्जिङ जानकारी, रुट योजना तथा सर्भिस अपोइन्टमेन्टलगायत सुविधा छन्।
चाबीबिना स्कुटर सञ्चालन, हिल होल्ड, क्रुज कन्ट्रोल, विभिन्न राइडिङ मोड र मल्टिलेभल रिजेनेरेटिभ ब्रेकिङ पनि उपलब्ध हुनेछन्। सुरक्षातर्फ एन्टी थेफ्ट नोटिफिकेसन, मोटर लक र गति घटेको संकेत दिने टेललाइटलगायत सुविधा समावेश गरिएको छ।
सिप्रदी यात्रीले टेकुमा नयाँ एक्सपेरियन्स सेन्टर अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ। त्यहाँ ग्राहकले स्कुटर अवलोकन, टेस्ट राइड तथा बुकिङ गर्न सक्नेछन्।
नाडा अटो शोमा पी२ बुकिङ गरेका ग्राहकलाई डेलिभरी सुरु भएसँगै स्कुटर उपलब्ध गराइने कम्पनीले जनाएको छ। ३.७ र ५.२ किलोवाट आवर भेरियन्टको डेलिभरी अक्टोबर मध्यदेखि नोभेम्बरसम्म र अन्य भेरियन्टको डिसेम्बर २०२६ देखि सुरु गर्ने तालिका छ।

