काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछानेले अन्ततः अमेरिकाको प्रवेशाज्ञा (भिसा) पाएका छन् । अमेरिकामा आयोजना हुने विश्वकप लिग २ त्रिकोणीय सिरिज खेल्न सन्दीपले अमेरिकाको भिसा आवेदन दिएका थिए । उनले भिसा पाएको र आजै उड्ने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
क्यानडामा नेपाली टिमसँगै रहेका सन्दीप अमेरिका नगई नेपाल फर्किएका थिए, जसका कारण अमेरिकासँगको टी– २० सिरिजमा उनले खेल्न पाएनन् । नेपाल आएर सन्दीपले भिसा प्रोसेस गरेका थिए । यसअघि विश्वकप क्रिकेट प्रतियोगिताका क्रममा अमेरिकाले सन्दीपलाई भिसा दिएको थिएन, जसका कारण अमेरिकामा भएका खेलमा सन्दीपले नेपाली टिमको तर्फबाट खेल्न पाएका थिएनन् ।

